close

सात रङमा आउँदै आईफोन १६ र आईफोन १६ प्लस

टेकपाना टेकपाना

भदौ ९, २०८१ १९:३४

सात रङमा आउँदै आईफोन १६ र आईफोन १६ प्लस

काठमाडौं । आगामी सेप्टेम्बर १० मा एप्पलले आईफोन १६ सार्वजनिक गर्ने तयारी गरेको छ । योसँगै यसबारे विभिन्न जानकारी बाहिरिन थालेका छन् ।

चिनियाँ सामाजिक सञ्जाल विबोमा बाहिरिएको एक जानकारी अनुसार एप्पलले आईफोन १६ र आईफोन १६ प्लस सात कलरमा उपलब्ध गराउने छ । यस अन्तर्गत आईफोन १६ र आईफोन १६ प्लस ब्ल्याक, ब्लु, ग्रीन, पिंक, पर्पल, ह्वाइट र येलो कलरमा उपलब्ध हुनेछन् । पर्पल र ह्वाइट रंगहरू नयाँ हुन् भने अन्य रंगहरू आईफोन १५ मा रहेका जस्तै हुनेछन् ।

यस वर्षको आईफोन १६ प्रो मोडेलहरू नयाँ ग्रे र गोल्ड फिनिशमा आउने अनुमान गरिएको छ, जसले आईफोन १५ प्रो लाइनअपका दुई विद्यमान रंगहरूलाई प्रतिस्थापन गर्नेछन् । 

आईफोन १६ को सार्वजनिक मिति तथा फिचरहरूबारे एप्पलले भने आधिकारिक रूपमा केही बताइसकेको छैन । यसअघि कम्पनीले आईओएस १८, म्याकओएस १५, र अन्य सफ्टवेयर अपडेटहरू सहितका नयाँ सफ्टवेयर फिचरहरू डब्लूडब्लूडीसी २०२४ कार्यक्रममार्फत प्रस्तुत गरिसकेको छ । 

एप्पलले नयाँ मोडेलमा कस्ता नयाँ प्रविधि समावेश गरेको छ र प्रयोगकर्ताहरूको अनुभवलाई कसरी फरक बनाउनेछ भन्ने कुराको चर्चा भइरहेको छ । यस पटकका आईफोन मोडेलहरू नयाँ डिजाइन, शक्तिशाली चिपसेट र सुधारिएको क्यामेरा प्रणाली सहित आउने खबर बाहिरिएका छन् । साथै ब्याट्री क्षमता र पफमेन्समा पनि महत्वपूर्ण सुधार हुने बताइएको छ ।

आईफोन १६ मोडेलहरूमा शक्तिशाली ए१८ चिप समावेश हुनेछ, जसले एप्पल इन्टेलिजेन्ससँग काम गर्नेछ । सबै आईफोन १६ मोडेलहरूमा नयाँ आईओएस १८ अपडेटको सपोर्ट रहनेछ । एप्पलले आईफोन १६ प्रो र प्रो म्याक्सको डिस्प्ले केही ठूलो बनाउने योजना बनाएको छ, भने चारवटै मोडेलहरूमा फोटो खिच्नका लागि नयाँ क्याप्चर बटन समावेश हुनेछ ।

स्ट्यान्डर्ड आईफोन १६ मोडेलहरूमा पहिलो पटक एक्सन बटन आउनेछ, भने आईफोन १६ प्रो मोडेलमा सुधारिएको ४८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा हुनेछ ।

एप्पल वाच मोडेलहरूको हकमा, एप्पल वाच सिरिज १०, नयाँ एप्पल वाच एसई, र रिफ्रेश गरिएको एप्पल वाच अल्ट्रा सार्वजनिक हुने अपेक्षा गरिएको छ । स्ट्यान्डर्ड एप्पल वाचमा एप्पलले पातलो डिजाइन र ठूलो डिस्प्ले समावेश गर्ने योजना बनाएको छ ।

एप्पलले एयरपड्स ४ पनि ल्याउने तयारी गरेको छ । यसअन्तर्गत पहिलो पटक दुई मोडेलहरू सार्वजनिक हुनेछन्, जसमा लोअर-एन्ड मोडेल अहिलेको एयरपड्ससँग मिल्दोजुल्दो हुनेछ, भने हाइ-एन्ड मोडेलमा एक्टिभ नोइज क्यान्सलेसनको सुविधा रहनेछ ।

 

पछिल्लो अध्यावधिक: भदौ ९, २०८१ १९:४२