काठमाडौं । नेपाली बजारमा केई अटोमोबाइल्सका नयाँ विद्युतीय कार सार्वजनिक भएका छन् । मङ्गलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२४’ मा केईले ‘ईक्विट ०२’ मोडेलका दुई भेरियन्ट र ‘ईक्विट ०४’ मोडेल सार्वजनिक गरेको हो ।
यसअन्तर्गत ईक्विट ०२ मा २०० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै ३०० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य २२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यस मोडेलमा ४० किलोवाट क्षमताको मोटर छ भने २८.०८ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ ।
त्यस्तै कम्पनीले नेपाली बजारमा आकर्षक मूल्यमा ईक्विट ०४ ल्याएको छ । यस गाडीले एक पटकको चार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । यसको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
नाडा अटो शोमा केई गाडीको खरिद गर्दा ग्राहकले ७.३ किलोवाटको वाल माउन्टेड चार्जर, एक वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पाउन सक्नेछन् ।
त्यस्तै नाडा अटो शोमै कम्पनीले ४६ लाख ९६ हजार रुपैयाँ मूल्य पर्ने एक्स थ्री प्रो ईभी डिलक्स र ४८ लाख ९६ हजार रुपैयाँ पर्ने केई एक्स थ्री प्रो (Kaiyi X3 Pro) ईभी फ्ल्यागशिप प्रदर्शनका लागि राखेको छ ।