close

भिडिओ कन्फ्रेन्सिङ टुल ल्याउँदै एक्स

टेकपाना टेकपाना

भदौ १३, २०८१ १०:४८

भिडिओ कन्फ्रेन्सिङ टुल ल्याउँदै एक्स

काठमाडौं । सामाजिक सञ्जाल एक्सले नयाँ भिडिओ कन्फ्रेन्सिङ टुल ल्याउने भएको छ । एक्सका कर्मचारी क्रिस पार्कले हालै एक्स पोस्टमार्फत यो टुलको विकास भइरहेको जानकारी दिएका हुन् ।

पार्कका अनुसार, पहिलो पटक एक्सको आन्तरिक बैठक यसै टुलमार्फत भएको छ, र प्रारम्भिक प्रतिक्रिया सकारात्मक आएको छ । यो पोस्टमा एक्सका मालिक एलन मस्कले पनि आगोको इमोजी राखेर प्रतिक्रिया जनाएका छन्, जसले पार्कको दाबीलाई थप बलियो बनाएको छ ।

यद्यपि एक्सले औपचारिक रूपमा यसबारे कुनै घोषणा गरेको छैन ।

टुलमा हाल स्पिकरहरूलाई पिन गर्न र कन्फ्रेन्समा सहज रूपमा जोडिन वा छाड्न सक्ने फिचरहरूमा काम भइरहेको बताइएको छ । एपबारे विभिन्न जानकारी चुहाउँदै आएका पीफोरमुइ र निमा ओज्वीले पनि एक्समा भिडिओ कन्फ्रेन्सिङ फिचर आउन लागेको खुलासा गरेका छन् ।

उनीहरूका अनुसार प्रयोगकर्ताले तुरुन्तै कन्फ्रेन्स सुरु गर्न वा भविष्यका लागि तालिका बनाउन सक्नेछन् । साथै, कन्फ्रेन्समा सहभागी हुन विशेष कोडको आवश्यकता पर्ने र होस्टको स्वीकृति अनिवार्य हुने बताइएको छ ।

यसअघि मस्कले जागिरका लागि लिङ्क्डइन र भुक्तानीका लागि पेपालसँग एक्सको प्रतिस्पर्धा हुने बताएका थिए । अब भने एक्सले जुम, गुगल मिट, माइक्रोसफ्ट टिम्स जस्ता अनलाइन मिटिङ टुलहरूसँग पनि प्रतिस्पर्धा गर्न लागेको देखिन्छ । तर यो टुल कहिले सार्वजनिक रूपमा उपलब्ध हुनेछ भन्ने कुरा अझै खुलासा गरिएको छैन ।

पछिल्लो अध्यावधिक: भदौ १३, २०८१ १६:२९