close

सानो चिटिक्कको विङ्गो ईभी किनेकी श्रेया भन्छिन्ः ब्याट्रीले भुईं छुँदा सातो जान्छ

टेकपाना टेकपाना

भदौ १७, २०८१ १५:१९

सानो चिटिक्कको विङ्गो ईभी किनेकी श्रेया भन्छिन्ः ब्याट्रीले भुईं छुँदा सातो जान्छ

काठमाडौं । फोर्ब्सको ‘३० अन्डर ३०’ मा पर्न सफल नेपाली उद्यमी हुन्, श्रेया गिरी । मानसिक स्वास्थ्य सम्बन्धीको डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक रहेकी उनले हालै वुलिङ ब्रान्डको विङ्गो ईभी किनेकी छिन् । 

श्रेयाले यो गाडी किनेको तीन महिना भइसकेको छ । अहिलेसम्म यसलाई उनले २,५०० किलोमिटर गुडाइ सकेकी छिन् । यो गाडी लिनु अघि उनले टाटाको टियागो हेरेकी थिइन् । ड्यासबोर्ड, स्टेरिङ तिर अलि बढी बटन भएकाले उनलाई टियागो त्यति मन परेन ।  त्यसपछि बीवाईडीको डल्फिन हेरिन् । त्यो गाडी पनि उनलाई अलि ठुलो लाग्यो । गल्ली बाटोतिर पनि जानपर्ने भएकाले त्यहाँसम्म गाडीलाई लान सक्छु भन्ने आँट उनमा आएन । 

त्यसपछि वुलिङ विङ्गो हेर्न गइन् । हेर्दैमा साधारण, तर चिटिक्क । आकार र लुक्स उनलाई दुवै मन परिहाल्यो । मिनिमलिस्टिक डिजाइन भएको कार उनको मनमा बस्यो । कार किन्‍नु अघि उनका केही पूर्वसर्तहरू थिए, जस्तो: कारको डिस्प्ले डिजिटल होस् । बुटस्पेस अलि ठुलै होस् । इन्टेरियर चिटिक्कको होस् ।

यी आधारबाट श्रेयालाई वुलिङ विङ्गो नै उत्तम लाग्यो । गाडी मन परेपछि घरमा पनि कुरा गरिन् । परिवारका सबै सहमत भए । अनि गाडी हेरेको एक हप्ताभित्र उनले यसलाई आफ्नो बनाइन् ।

गाडीमा उनले बीमासहित करिब साढे ३२ लाख रुपैयाँ लगानी गरेकी छिन् । यो गाडी लिने क्रममा उनले आफ्नो पुरानो गाडी हुन्डाई आई १० साटेकी थिइन् । पुरानोसँग नयाँ गाडी साट्दाको अनुभव भने खासै राम्रो नभएको उनी सुनाउँछिन् । किनकि पुरानो गाडी १२ लाखसम्ममा जान्छ कि भन्ने सोचेकी उनले त्यो भन्दा कम मूल्यमा बेच्नु परेको थियो । त्यस माथि बार्गेनिङको पाटो त छँदै थियो ।

जे होस् लुक्सका कारण मन परेको गाडी उनले किनि छाडिन् । तर अनौठो कुरा उनलाई यो गाडी यति मन पर्‍यो कि त्यसको रेन्जबारे समेत बुझ्न आवश्यक ठानिनन् । उनको बुझाइमा बिजुली गाडी फरक फरक भए पनि रेन्जमा केही समानता होला भन्ने थियो । भलै गाडीले दिने रेन्जे आकार अनुसार पर्याप्त नै छ । तर आफूले जसरी हतारमा गाडी खरिद गर्न नहुने उनको सल्लाह छ ।

गाडीमा उनलाई मन परेका विशेषता थुप्रै छन् । हेर्दै महिलाले चढ्ने र महिलाकै लागि बने जस्तो लाग्छ उनलाई यो ईभी । पुरुषले चढ्ने जस्तो नदेखिनुलाई नै उनी यसको राम्रो पक्ष मान्छिन् । 

गाडीको रङको समायोजन पनि उनलाई मन परेको अर्को कुरा हो । यसले गर्दा पनि गाडीलाई आकर्षक देखाउन भूमिका खेलेको छ । अनि गीत सुन्दै गाडी चलाउने बानी परेकी उनलाई यसको अडिओ मन नपर्ने कुरै भएन ।

त्यस्तै सिट र स्टेरिङलाई आफू अनुसार एडजस्ट गर्न पाउनु अर्को राम्रो पक्ष भएको उनको भनाइ छ । त्यसैगरी सामानहरू अड्याउन भनेर गाडीमा हुक दिइएको छ । त्यसले गाडी भित्र हाते झोलाहरू झुन्ड्याउन सजिलो बनाउने उनको बुझाइ छ । 

तर गाडीमा सबै राम्रा पक्ष मात्र छैनन् । गाडीको एसीले तातो नबनाएको कुरामा उनको सानो दु:खेसो छ । यो कुरा उनले गाडी किनिसकेपछि मात्र चाल पाएकी  हुन् । यसैले जाडोमा के गर्ने होला भनेर उनी अहिले देखि नै चिन्तित देखिन्छिन् । उसै गरि यसमा एप्पल कार प्लेको सपोर्ट छैन । तर १०/१५ हजार रुपैयाँ तिरेपछि राखिदिने बचन उनलाई शोरुमले दिएको छ ।

एउटा कार्यशालामा सहभागी हुन उनी केही समय अघि यही गाडीबाट काठमाडौंदेखि नजिकैको घ्याम्पे डाँडा जाँदै थिइन् । बाटो हेर्न गुगल म्याप्सको सहारा लिइरहेकी थिइन् । त्यहाँ पुग्न अलि ढिलो भइरहेको थियो । त्यसै बीच म्याप्सले देखाएको बाटो गलत परेछ ।

त्यो समयमा वर्षा भइरहेको थियो । बाटो चिप्लो अनि अफरोड थियो । त्यस माथि उकालो । त्यस्तो अवस्थामा उनी अतालिएकी पनि थिइन् । किनकि अगाडि पछाडि दुवै तिर जाने बाटो अप्ठ्यारो थियो ।

गाडीको ग्राउन्ड क्लियरेन्सले पुग्दैन कि भन्ने अर्को चिन्ता थियो उनको मनमा । जसोतसो गाडीलाई घुमाएर उनी अर्को बाटो लागिन् । अन्तत: गन्तव्यमा पुगिन् । त्यस बेला गाडीको स्पोर्ट्स मोडले निकै सजिलो बनाएको उनी सम्झन्छिन् । अब भने अफरोड बाटोमा पनि यो ईभी लैजाने आत्म विश्वास बढेको उनको भनाइ छ । 

काठमाडौंको सडकहरू बर्खा याममा अस्तव्यस्त हुन्छन् । गाडीको तल्लो भाग बाटोमा बढी जसो ठोक्किने समय पनि मनसुन नै हो भन्ने लाग्छ उनलाई । अहिले पनि घरबाट कार्यालय आउँदा जाँदा केही ठाउँमा दैनिक जसो गाडीले भुइँ छोइरहने पीर उनको मनमा छ । त्यस्तोमा मन चसक्क हुने र सातो जाने भएपनि मनलाई सान्त्वना दिनुको विकल्प नभएको उनको भनाइ छ ।  

अब मनसुन सकिएपछि भने यो गाडीलाई कुरिनटारसम्म लाने उनको योजना छ । त्यति बेला गाडीको रेन्ज, ग्राउन्ड क्लियरेन्स लगायत अन्य कुराहरूको राम्रोसँग परीक्षण हुने आशा उनको छ ।

ब्याट्री २४/२५ प्रतिशत पुग्नसाथ गाडीलाई चार्ज गर्ने र ८० प्रतिशत कटेपछि चार्जरबाट झिक्ने बानी उनले बनाएकी छिन् । अहिलेसम्म उनले गाडीलाई फास्ट चार्जरमा भने राखेकी छैनन् । डीसी चार्जर प्रयोग गर्नाले गाडीलाई २० देखि ८० प्रतिशत वरपरसम्म चार्ज गर्न ७/८ घण्टा लागेको उनको अनुभव छ । कम्पनीको दाबी अनुसार यो गाडीले ३३३ किलोमिटर रेन्ज दिन्छ । 

भनिए जति रेन्ज आफूले नपाएको बताउने श्रेया अहिलेसम्म रेन्जकै कारण तनाव भोग्नु नपरेको सुनाउँछिन् । यद्यपि ‘कतै जाँदा चार्ज पुग्दैन कि, त्यहाँ चार्जर हुँदैन कि’ भन्ने डर भने हुने उनको मनमा रहि रहन्छ । विशेष गरी गाडी चार्ज गर्न फुर्सद नहुने गरी व्यस्त भएको दिनमा के गर्ने होला भन्ने लाग्छ उनलाई । 

“कहिल्यैकाहीँ फोनमा त चार्ज हुँदैन । अनि यात्राको यात्रा गर्दा गाडी चार्ज कसरी गर्ने होला भन्ने हुँदो रहेछ,” उनी भन्छिन् । यो उनको पहिलो कार भने होइन । उनकै घरमा पजेरो र क्रेटा पनि छन् । बेलामौकामा ती गाडी पनि उनी चलाउँछिन् । अहिले आएर उनलाई ती दुवै गाडीको तुलनामा चलाउन यही विङ्गो नै सजिलो र सरल लाग्छ ।

आफ्नो लागि अलि ठुलो आकारका गाडी उपयुक्त नहुने बुझाई उनको छ । तिनीहरूलाई राम्ररी चलाउन सक्छु भन्ने आत्मविश्वास अहिले त्यति धेरै नभएको उनी बताउँछिन् । तथापि आफ्नो ड्राइभिङमा आत्मविश्वास बढ्दै गए भविष्यमा अलि ठुलो आकारको दीपाल ईभी किन्ने उनको सपना छ । 

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८१ १६:२१