काठमाडौं । नचाहँदा नचाहँदै कहिलेकाहीँ कुनै एप आवश्यकता भन्दा बढी चलाउन पुगिन्छ । ती एप केही क्षण चलाए जस्तो त लाग्छ, तर घण्टौं बितिसकेको पत्तै हुन्न । यसले तपाईंको उत्पादकत्व र दैनिक जीवनमा असर पार्छ नै, सँगसँगै मानसिक तथा शारीरिक स्वास्थ्यमा पनि नकारात्मक असर पारिरहेको हुन्छ । तर स्मार्टफोनमा त्यस्तो फिचर पनि छ, जसमा कुनै पनि एप आफ्नो योजना अनुसार चलाउने समय निर्धारण गर्न सकिन्छ । यसरी त्यस्ता एपलाई निर्धारित समय सीमाभन्दा बढी चलाउन नसकिने व्यवहार अपनाउन सकिन्छ ।
आज हामी तपाईंलाई एन्ड्रोइड तथा आईओएसमा कुनै पनि एप चलाउने समयको सीमा कसरी तोक्ने भन्ने तरिका बताउँदै छौं ।
एन्ड्रोइड
प्राय: अहिलेका सबैजसो एन्ड्रोइड फोनमा डिजिटल वेलविङ फिचर रहेको हुन्छ । यसले स्मार्टफोनसँग स्वस्थ सम्बन्ध कायम राख्नमा मद्दत गर्छ । यसबाट नै कुनै पनि एपमा टाइमर सेट गर्न मिल्छ ।
यसका लागि सबैभन्दा पहिला आफ्नो एन्ड्रोइड फोनको सेटिङमा जानुहोस् ।
स्क्रोल गर्दै केही तल रहेको ‘डिजिटल वेलविङ एन्ड प्यारेन्टल कन्ट्रोल्स’मा पुग्नु होस् ।
अब त्यहाँ तपाईंले कस्ता र कुन एप बढी चलाउनु हुन्छ, त्यसबारेको जानकारी हेर्न सक्नु हुन्छ । यहाँबाट कुनै पनि एप प्रयोगमा कति समयको सीमा राख्ने भने भन्ने कुरा तय गर्न ‘एप टाइमर’ छान्नु होस् ।
त्यहाँबाट कुनै एक एप रोज्नुहोस् अनि समय र बार छान्नुहोस् ।
यसरी अब तपाईं आफैंले एपका लागि निर्धारण गरेको समयसीमाभन्दा बढी समयसम्म चलाउनु भयो भने सो दिन उक्त एप चलाउन मिल्ने छैन ।
आईफोन
एन्ड्रोइडमा जस्तै आईफोनमा पनि एप चलाउने समय आफैं निर्धारण गर्न सकिन्छ । यी दुवै अपरेटिङ सिस्टममा यो फिचर एउटै तरिकाले काम गर्छ ।
यसका लागि सबैभन्दा पहिला सेटिङमा जानुहोस् ।
अलि तल गएर स्क्रिन टाइम छान्नुहोस् र यसको विकल्पलाई ‘अन’ गर्नुहोस् । यसो गर्दा तपाईंले पछि गएर कुन एपमा कति समय बिताउनु भयो भनेर पनि निगरानी राख्न सक्नु हुन्छ ।
त्यसपछि त्यहाँ आएका विकल्पहरूमध्ये 'एप लिमिट'मा जानुहोस् ।
त्यहाँबाट तपाईंले निश्चित एप छान्नु पर्ने हुन्छ ।
त्यसपछि नेक्स्टमा क्लिक गरेर समय र बार पनि छान्नुहोस् ।
यसरी कुनै पनि एपमा चलाउने समय निर्धारण गर्न सकिन्छ । जसै त्यो समय कट्छ, सम्बन्धित दिनमा उक्त एप चलाउन मिल्दैन ।
नोट: फोनको मोडेल र ब्रान्ड अनुसार यो सेटिङ फरक फरक स्थानमा हुन सक्छ । तपाईंले एपको चलाउने समय जहिले पनि परिमार्जन गर्न सक्नु हुन्छ । तपाईंले बार अनुसार फरक फरक समय पनि राख्न सक्नुहुन्छ । तपाईंले सेट गरेको समयभन्दा पाँच मिनेट अगाडि नोटिफिकेसन पनि जान्छ । एपमा टाइमर सेट गर्दा तपाईंले एकै पटकमा एकभन्दा बढी एप छान्न पनि सक्नु हुन्छ ।