काठमाडौँ । विन्डोज ११ को टास्कबारको एउटा राम्रो पक्ष भनेको यसको अलाइनमेन्ट बायाँदेखि बिच अथवा त्यसको ठिक विपरीतमा परिवर्तन गर्न सकिने क्षमता पनि हो ।
यद्यपि टास्कबारलाई ट्रान्सपरेन्ट अर्थात् पारदर्शी बनाउन सकिने विकल्पको भने अझैँ अभाव छ । तर चिन्ता नगर्नुहोस्, तपाईँले एउटा थर्डपार्टी टुल प्रयोग गरेर त्यो पनि सजिलै प्राप्त गर्न सक्नु हुन्छ ।
कसरी ट्रान्सपरेन्ट बनाउने विन्डोज ११ को टास्कबार ?
विन्डोज ७ मा माइक्रोसफ्टले ट्रान्सपरेन्ट ग्लास भिजुअल इफेक्ट उपलब्ध गराएको थियो, जसको सहायताले तपाईँ टास्कबारलाई ट्रान्सपरेन्ट बनाउन सक्नु हुन्थ्यो । यद्यपि तपाईँले विन्डोज ११ मा त्यस्तो विकल्प पाउन सक्नु हुन्न ।
सेटिङ एपभित्र रहेको कलर सेलेक्सनबाट ट्रान्सपरेन्सी इफेक्टको विकल्प पाउन सकिने भए पनि त्यसबाट टास्कबारमा थोरै मात्र पारदर्शिता ल्याउन सक्नु हुन्छ । तर यसले त्यसलाई पूर्ण रूपमा पारदर्शी तुल्याउन भने सक्दैन ।
यदि तपाईँ आफ्नो टास्कबार पूर्ण तया पारदर्शी बनाउन चाहनु हुन्छ भने एउटा मात्र विकल्प छ, त्यो भनेको ट्रान्सलुसेन्टटीबी नामक थर्डपार्टी एप्लिकेसन प्रयोग गर्ने, जुन विशेषगरी त्यही प्रयोजनका लागि डिजाइन गरिएको हो । यो एप प्रयोग गर्न पहिला यसलाई माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्नुपर्ने हुन्छ ।
जब यो एप इन्स्टल हुन्छ, तब तपाईँले स्वतः टास्कबार पारदर्शी भएको पाउनु हुनेछ । यो एपले टास्कबारको देखावट व्यवस्थापन गर्नका लागि विभिन्न कस्टमाइजेसन विकल्पहरू पनि उपलब्ध गराउँछ ।
उदाहरणको लागि यदि तपाईँ पारदर्शी टास्कबारमा बोडर थप गर्न चाहनु हुन्छ भने सिस्टम ट्रे एरिया खोल्नुहोस् र ट्रान्सलुसेन्टटीबी एपमा क्लिक गर्नुहोस् ।
यति गरिसकेपछि देखिने मेनुबाट Desktop अप्सनभित्र गएर Show Taskbar Border छान्नुहोस् ।
तपाईँले आफ्नो सिस्टम स्टार्ट गर्दा स्वतः यो एप लन्च हुने कुराको सुनिश्चितता गर्न यहाँबाट Open at Boot अप्सन पनि चयन गर्न सक्नु हुन्छ । त्यहाँ देखिने चेकमार्कले उक्त अप्सन इनेबल रहेको कुरा जनाउँछ ।
तपाईँको टास्कबार पारदर्शी बनाउने कार्यका लागि ट्रान्सलुसेन्टटीबी एउटा राम्रो एप हुँदा हुँदै एउटा कुरा के नबिर्सिनुहोस् भने यो थर्डपार्टी एप्लिकेसन हो । यसको अर्थ विन्डोज अपडेटले यसको कार्य क्षमतामा अवरोध ल्याउन सक्छ र त्यसले तपाईँको कम्प्युटरमा समस्या निम्त्याउन सक्छ ।
यस किसिमको अवस्था आउन नदिने सबैभन्दा राम्रो उपाय भनेको जब जब तपाईँ विन्डोज अपडेट डाउनलोड गर्नु हुन्छ, त्यस बखत ट्रान्सलुसेन्टटीबीको उपलब्ध कुनै अपडेट चेक गर्नुहोस् । यसका लागि तपाईँ माइक्रोसफ्ट स्टोरमा गएर बायाँतर्फ रहेको Downloads अप्सन छानेपछि Get Updates मा क्लिक गर्न सक्नु हुन्छ ।
यति गरिसकेपछि माइक्रोसफ्ट स्टोरले तपाईँले इन्स्टल गरेका सम्पूर्ण एपका लागि उपलब्ध अपडेटहरू देखाउँछ । त्यहाँबाट ट्रान्सलुसेन्टटीबीका लागि उपलब्ध कुनै अपडेट डाउनलोड गर्न सक्नु हुन्छ ।
यदि एपका कारण कुनै समस्या आइरहेको छ र त्यसको कुनै अपडेट पनि उपलब्ध छैन भने डेभलपरबाट तपाईँले प्रयोग गरिरहेको विन्डोजको भर्सनसँग कम्प्याटिबल हुने अपडेट रिलिज नभएसम्मका लागि त्यसलाई अनइन्सल गरिदिन सक्नु हुन्छ । त्यसो त माइक्रोसफ्टले धेरै अघि नै ट्रान्सपरेन्ट टास्कबार ल्याउने घोषणा गरेको थियो । तर यस्तो अप्सन अहिलेसम्म उपलब्ध भने भइसकेको छैन । त्यतिन्जेलसम्मका लागि थर्डपार्टी डेभलपरमाथि भर पर्नुको विकल्प छैन ।