close

दिनभर कम्प्युटरमा काम गर्नुहुन्छ ? यसरी राख्नुहोस् आफ्ना आँखाको ख्याल

टेकपाना टेकपाना

कात्तिक १२, २०८१ १२:५५

दिनभर कम्प्युटरमा काम गर्नुहुन्छ ? यसरी राख्नुहोस् आफ्ना आँखाको ख्याल

काठमाडौं । आजभोलि तपाईं हामी मध्ये धेरैले कामका लागि विन्डोज ११ प्रयोग गर्छौं । यो विन्डोजको पछिल्लो संस्करण हो । स्क्रिनमा दिनभर हेरेर काम गर्नु पक्कै पनि आँखाको स्वास्थ्यका लागि राम्रो भने होइन ।

तर, काम पनि त गर्नै पर्छ । यसका लागि आँखालाई सहज हुने खालका केही सेटिङ उपलब्ध छन् । आज हामी तपाईंलाई तिनै सेटिङबारे जानकारी दिँदै छौँ:

१. ब्राइटनेस मिलाउने 

आँखाको स्वास्थ्यका लागि आधारभूत सेटिङ हो, ब्राइटनेस मिलाउने । अहिलेका धेरै जसो कम्प्युटर मनिटर अथवा ल्यापटपमा ब्राइटनेटस स्वत: एडजस्ट (मिल्छ) हुन्छ । तर त्यसले तपाईंलाई सहजता प्रदान गरेन भने आफैं पनि मिलाउन सक्नुहुन्छ । 

यसका लागि सेटिङ हुँदै ब्राइटनेसमा जान सक्नुहुन्छ । अथवा Windows + A किलाई एकसाथ थिचेर पनि सेटिङ अन गर्न सक्नुहुन्छ । 

सामान्यत: तपाईंको वरिपरि कत्तिको उज्यालो छ, त्यस आधारमा ब्राइटनेस मिलाउन सक्नुहुन्छ । यसरी मिलाउँदा न कम न त बढी हुने कुरा सुनिश्चित गर्नु पर्छ । कम्तीमा स्क्रिनमा हेरी रहन गाह्रो हुनु भएन ।

२. क्रसरको आकार र रङ परिवर्तन गर्ने    

सानो होस् वा ठुलो, दुवै खाले स्क्रिनमा काम गर्दा माउसको क्रसर हराउनु भएन । नत्र त माउसको क्रसर कहाँ छ भनेर खोज्दैमा समय बिति जान्छ । खैर, तपाईंले कम्तीमा आफ्नो सहजताका लागि माउसको क्रसरको रङ र आकार परिवर्तन गर्नु भयो भने झट्‍ट हेर्दा समस्या हुँदैन । यसका लागि तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ:

  • सुरुमा कम्प्युटरको सेटिङमा जानुहोस् । 

  • एक्सेसिबिलिटीमा क्लिक गर्नुहोस् । 

  • त्यहाँ देखिने विकल्पहरू मध्ये 'माउस पोइन्टर एन्ड टच'मा क्लिक गर्नुहोस् । 

  • अब नयाँ आउने पेजमार्फत् आफूलाई अनुकूल हुने गरी कर्सरको आकार र रङ्ग छान्नुहोस् ।

३. टेक्स्ट र आइकनको आकार बढाउने

धेरैलाई स्क्रिनमा देखिने टेक्स्ट र आईकनको आकार सानो बनाएर काम गर्न मन लाग्न सक्छ । तर लामो समयसम्म यस्तो अवस्थामा काम गर्नु आँखाको स्वास्थ्यका लागि राम्रो होइन । 

यसो हुँदा कम्तीमा तपाईंले टेक्स्ट र आईकनको आकार बढाउन सक्नुहुन्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनु होस्: 

  • सेटिङ हुँदै सिस्टममा जानुहोस् ।

  • त्यहाँ रहेको 'डिस्प्ले'मा क्लिक गर्नुहोस् । 

  • अब आउने विकल्पहरू मध्ये तपाईंले 'स्केल' देख्नुहुन्छ । यसैभित्र तपाईंले टेक्स्ट तथा आइकनहरूको आकार कत्रो बनाउने भन्ने विकल्प पाउनुहुन्छ ।

४. डार्क मोड प्रयोग गर्ने 

आँखाको स्वास्थ्यका लागि धेरैले दिने सुझाव हो, डार्क मोडको प्रयोग । तर बाइडिफल्ट विन्डोज ११ लाइट मोडमा आउँछ । यसको अर्थ सबै जसो युजर इन्टरफेस लाइट मोड अनुसारकै हुन्छन् । 

तर विन्डोज ११ मा डार्क मोडको पनि विकल्प छ । यो मोडको प्रयोग गर्दा युजर इन्टरफेसका इलिमेन्टहरू कालो र खैरो हुन सक्छन् । तर यसले आँखालाई राम्रै गर्छ । यसका लागि: 

  • सेटिङ हुँदै 'पर्सनलाइजेसन'मा क्लिक गर्नुहोस् । 

  • त्यहाँ 'कलर्स'भन्ने विकल्प छानेर 'चुज योर मोड' को विकल्पमा जानुहोस् । 

  • यसपछि तपाईंले डार्क मोड देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गर्नुहोस् । 

५. नाइट लाइट अन गर्ने 

स्क्रिन अन हुँदा हानिकारक ब्लु लाइट पनि निस्किरहेको हुन्छ । यसले आँखामा दबाब सिर्जना गर्छ । केही अध्ययनले यसको असर निद्रामा समेत पर्ने देखाएका छन् । 

यसका लागि विन्डोज ११ मा त्यस्ता ब्लु लाइट बन्द गर्न सकिने फिचर समेत रहेको छ । नाम अनुसार यो रातको समयमा प्रयोग गर्नु पर्ने हो । 

तर तपाईं दिनभर स्क्रिनमा नै समय बिताउनु हुन्छ भने यो विकल्प अन गर्न सक्नुहुन्छ । 

  • सेटिङमा जानुहोस् ।

  • सिस्टममा क्लिक गरेर डिस्प्लेमा जानुहोस् । 

  • त्यहाँ तपाईंले नाइट लाइट देख्नुहुन्छ, त्यसको टोगल अन गर्नुहोस् । यति गरी सकेपछि त्यसलाई कति प्रभावकारी बनाउने भन्ने कुरा निर्धारण गर्न स्लाइडर चलाउन सक्नुहुन्छ । 

६. कलर फिल्टर प्रयोग गर्ने 

यो फिचर सबै खालका प्रयोगकर्ताका लागि भने होइन । यो विशेष गरी कलर ब्लाइन्ड भएका प्रयोगकर्ताका लागि हो । 

यस प्रकारका प्रयोगकर्ताका लागि विन्डोज ११ मा विभिन्न कलर फिल्टर दिइएका छन् । तिनले स्क्रिनमा देखिने कलरलाई अझ स्पष्ट बनाउँछन् । यसका लागि: 

  • सेटिङमा जानुहोस् । 

  • एक्सेसिबिलिटीमा गएर कलर फिल्टरमा जानुहोस् । 

  • त्यहाँ विभिन्न विकल्प दिइएका छन्, जस मध्ये आफूलाई अनुकूल हुने कलर फिल्टर प्रयोग गर्नुहोस् ।

७. कन्ट्रास्ट थिम प्रयोग गर्ने 

नाम जस्तै यस थिमको काम युजर इन्टरफेसमा कन्ट्रास्ट बढाउनु हो । यसले गर्दा स्क्रिनमा देखिने विवरणहरू हेर्न सजिलो हुन्छ । यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्: 

  • सेटिङमा जानुहोस् । 

  • एक्सेसिबिलिटीमा गएर कन्ट्रास्ट थिममा क्लिक गर्नुहोस् । 

  • त्यहाँ विभिन्न थिम दिइएका हुन्छन्, जस मध्येबाट एउटामा क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८१ १२:५५