काठमाडौं । टर्कीका एक व्यक्तिले सामसङ ग्यालेक्सी बड्स एफई कानमै पड्किँदा प्रेमिकाले सधैंका लागि श्रवणशक्ति गुमाएको दाबी गरेका छन् । सामसङको कम्युनिटी फोरममा पोस्ट राख्दै ती व्यक्तिले इयरबड्स पड्किँदा यस्तो घटना निम्तिएको बताएका हुन् ।
टर्किश सञ्चारमाध्यम वेबटेन्को डटकमले यस विषयमा समाचार प्रकाशित गरेको छ । प्रयोगकर्ताका अनुसार उनले हालै मात्र प्रेमिकाका लागि उक्त इयरबड्स खरिद गरेका थिए । सो इयरबड्सलाई प्रेमिकाले ग्यालेक्सी एस २३ अल्ट्रा स्मार्टफोनमा पेयर गरेकी थिइन् । बक्सबाट निकालेपछि उक्त इयरबड्स चार्जमा लगाइएको थिएन । यद्यपि त्यसमा ३६ प्रतिशत चार्ज थियो ।
नयाँ इयरबड्स कानमा लगाउने बित्तिकै पड्किएको ती व्यक्तिको दाबी छ । र, यस दुर्घटनाले गर्दा युवतीको श्रवणशक्ति सधैंका लागि गुमेको जनाइएको छ । यति मात्र नभई ती प्रयोगकर्ताले टर्कीको अडाना सहरको एक सामसङ सर्भिस सेन्टरमा इयरबड्स खरिद गर्दाको अनुभव पनि उल्लेख गरेका छन् ।
उनले पहिलो पटक इयरबड्स खरिद गर्दा बिग्रिएको परेको थियो । यस्तो अवस्था देखेर त्यहाँका कर्मचारीले उनीहरूसँग माफी मागेका थिए । पछि अर्को इयरबड्स खरिद गरेर उनी निस्किए । त्यही इयरबड्स प्रयोग गर्ने क्रममा पड्किएको उनको भनाइ छ । त्यसलगत्तै प्रयोगकर्ताले सहायताका लागि सामसङलाई सम्पर्क गरेका थिए । तर, कम्पनीले जनाएको प्रतिक्रियाबाट आफू निराश भएको उनको गुनासो छ ।
उनका अनुसार कम्पनीले घटनाको बारेमा विस्तृत जानकारी माग्नुका साथै इयरबड्स साटिदिने जनाएको थियो । यसले गर्दा आफू थप असन्तुष्ट भएको उनको भनाइ छ । जवाफमा सामसङले विज्ञप्ति निकालेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यसमा कम्पनीले उक्त इयरबड्सबारे अनुसन्धान गरिरहेको र हालसम्म पड्किनुको वास्तविक कारण फेला नपरेको भन्ने उल्लेख गरिएको छ । यद्यपि विज्ञप्तिको लिङ्क वा पत्र बाहिरिएको छ वा छैन भन्ने विषय स्पष्ट छैन ।
यसले विश्वभरका ब्लुटुथ इयरबड्स प्रयोगकर्तामा गम्भीर किसिमको चिन्ता निम्ताएको बताइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले सामसङका सामाजिक सञ्जालमा यस विषयमा कमेन्ट गरिरहेका छन् । उनीहरूले कम्पनीलाई आफ्ना प्रडक्टको सुरक्षालाई गम्भीरतापूर्वक लिन अनुरोध गरेका छन् ।
स्मार्टफोनमा जस्तै इयरबड्समा पनि लिथियम आयन ब्याट्री प्रयोग भएको हुन्छ । यसमा ३५ एमएएचदेखि ५० एमएएचसम्मको ब्याट्री प्रयोग गरिन्छ । इयरबड्स पड्किनुको खास कारण नबाहिरिएको भए पनि प्रयोगकर्तालाई इयरबड्स प्रयोग गर्नुअघि त्यसलाई राम्रोसँग जाँच गर्न सुझाव दिइएको छ । विशेषगरी इयरबडस तात्तिएको छ वा छैन, पानी परेको छ कि छैन भन्ने विषय राम्रोसँग जाँच्नुपर्ने हुन्छ ।