close

मेटाले ल्यायो फिल्म जस्तै आवाज सहितको भिडिओ बनाउन सक्ने एआई टुल

टेकपाना टेकपाना

असोज २०, २०८१ १२:३४

मेटाले ल्यायो फिल्म जस्तै आवाज सहितको भिडिओ बनाउन सक्ने एआई टुल

काठमाडौं । मेटाले लिखित निर्देशनकै आधारमा फिल्मजस्तो वास्तविक लाग्ने आवाजसहितको भिडिओ क्लिप बनाउन सक्ने एआई टुल सार्वजनिक गरेको छ । अन्य प्रतिस्पर्धी कम्पनीहरूलाई पछि पार्ने उद्देश्यले मेटाले 'मुभीजेन' नामक एआई मोडल प्रस्तुत गरेको हो ।

हाल यो टुल सार्वजनिक रूपमा उपलब्ध भइसकेको छैन, तर मेटाले यस टुलले तयार पारेका केही नमुना क्लिपहरू भने सार्वजनिक गरेको छ ।

ती क्लिपहरूमा एआईले प्रयोगकर्ताको निर्देशनका आधारमा यथार्थपरक (सुर्रियलिस्टिक) भिडिओ बनाएको देख्न सकिन्छ । केही क्लिपमा प्रयोगकर्ताले उपलब्ध गराएको फोटोमा आधारित भएर नयाँ भिडिओ बनाएको छ ।

मेटाका अनुसार यस टुलले भिडियोको पार्श्व ध्वनि र साउन्ड इफेक्ट तयार पारेर भिडिओसँग मिलाउन सक्छ । साथै, यसले पहिले नै तयार भइसकेका भिडिओहरूमा सम्पादन गर्न पनि सक्छ ।

हाल मुभीजेनले १६ सेकेन्डको भिडिओ र ४५ सेकेन्डसम्मको अडियो बनाउने क्षमता राखेको मेटाले जनाएको छ । तर, यसको भविष्यका योजनाबारे मेटाले कुनै जानकारी दिएको छैन ।

यसअघि रनवे, ओपनएआई, इलेभेनल्याब्स, र क्लिङ जस्ता स्टार्टअपहरूले भिडिओ बनाउन सक्ने टुलहरू सार्वजनिक गरिसकेका छन् । तर, मेटाको एआई नेपालमा अहिलेसम्म उपलब्ध भएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २०, २०८१ १२:४०