काठमाडौं । सन् २०२४ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार एआई सम्बन्धी अनुसन्धान गर्ने दुई वैज्ञानिकलाई प्रदान गरिने भएको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हालै सूचना जारी गर्दै कृत्रिम न्युरल नेटवर्कमा अनुसन्धान गरेका जेफ्री हिन्टन र जोन हपफिल्डलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गरिने जानकारी दिएको हो ।
उनीहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कमा मसिन लर्निङ इनेबल गराउने आधारभूत आविष्कार र खोजका लागि’ यो पुरस्कार दिइने भएको हो । सन् १९७० को अन्त्यतिर र १९८० को सुरुतिर प्रारम्भ गरिएको यो अध्ययनले एआईको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
जेफ्री हिन्टनलाई 'डीप लर्निङको गडफादर' भनेर पनि चिनिन्छ । सन् १९७८ मा एआईमा विद्यावारिधि प्राप्त गरेका हिन्टनले ‘ब्याकप्रोपोगेसन एल्गोरिदम’को विकास गरेका थिए, जसलाई उनको महत्त्वपूर्ण आविष्कार मध्येको एक मानिन्छ ।
यसले न्युरल नेटवर्कलाई आफ्ना गल्तीबाट सिक्न सघाउँछ । हिन्टन सन् २०१३ मा गुगलसँग आबद्ध भए पनि एआईले गलत सूचना फैलाउने जोखिम देखाउँदै सन् २०२३ मा गुगल छाडेका थिए । हाल उनी टोरन्टो विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत छन् ।
त्यस्तै, जोन हपफिल्ड प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक हुन् । उनले 'हपफिल्ड नेटवर्क'को विकास गरेका थिए, जसले न्युरल नेटवर्कले कसरी तस्बिर र सम्झनाहरू भण्डारण र पुन: प्राप्त गर्न सक्छ भन्ने देखाउँछ । यस मोडेलले मानव मष्तिष्कको स्मरण क्षमताको नक्कल गरेको थियो ।
नोबेल पुरस्कार १० डिसेम्बरमा विशेष कार्यक्रममार्फत प्रदान गरिने छ । पुरस्कार प्राप्त गर्नेहरूलाई ‘लरेट’ भनिन्छ, र उनीहरूले स्वर्ण पदक, प्रमाणपत्र, र ११ मिलियन स्वीडिस क्रोनर (करिब १ मिलियन डलर) नगद पुरस्कार प्राप्त गर्नेछन् ।