काठमाडौं । नेपालले शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको एक महिनाभन्दा बढी भइसकेको छ । प्रतिबन्ध फुकुवा भएसँगै यस प्लेटफर्ममा सक्रिय हुने नेपाली प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन बढ्दो छ । यसैलाई मध्यनजर गर्दै हालै मात्र टिकटकले काठमाडौंमा ‘ग्रो विथ टिकटक’ वर्कशप सञ्चालन गरेको थियो ।
वर्कशपमा टिकटकमा प्रतिनिधिले कन्टेन्ट क्रियटरलाई रिच कसरी बढाउन सकिन्छ भन्ने विषयमा जानकारी दिएका थिए । टिकटक प्रतिनिधिका अनुसार राम्रै कन्टेन्ट राखिए पनि प्राविधिक पक्षलाई बेवास्ता गर्दा कहिलेकाहीं सोचे अनुसारको रिच आउँदैन । कन्टेन्ट क्रियटर वा भनौं टिकटकमा भिडिओ बनाएर राख्न चाहने प्रयोगकर्ताले केही पक्षमा सुधार गरे भिडिओले राम्रो रिच पाउन सक्छ ।
यस्ता छन् टिकटकका प्रतिनिधिले सुझाएका उपयोगी टिप्स
१) भिडिओ १६ः९ को रेसियोमा बनाउने
टिकटकका अधिकांश प्रयोगकर्ता मोबाइलमा भिडिओ हेर्छन् । त्यसैले छोटा र ठाडो किसिमका भिडिओ यस प्लेटफर्ममा बढी रुचाइन्छन् । भिडिओ १६ः९ आकारमा तयार पार्दा त्यस भिडिओले अडियन्सलाई प्रभाव पार्ने सम्भवाना बढी हुने टिकटकका प्रतिनिधिको भनाइ छ ।
२) भिडिओमा टेक्स्ट राख्नुहोस्
कतिपयलाई भिडिओका टेक्स्टले उक्त भिडिओमा अड्याइराख्छ । तपाईंले आफूले जे विषयमा भिडिओ बनाउन खोज्नुभएको हो, त्यो क्याप्सन भिडिओमा राख्नुहोस् । टेक्स्ट राख्दा ब्याकग्राउन्ड मिल्छ कि मिल्दैन, ब्याकग्राउन्ड कस्तो राख्दा उपयुक्त हुन्छ, सुहाउँछ कि सुहाउँदैन, कति ठूलो टेक्स्ट राख्दा राम्रो देखिन्छ भन्ने विषय ख्याल राख्नुपर्ने हुन्छ । भिडिओको हरेक सिनलाई दर्शाउने टेक्स्ट भए त्यसले भ्युअरहरूलाई अन्तर्क्रिया गर्न प्रेरित गर्छ ।
३) भिडिओ जे सम्बन्धी बनाउन खोज्नुभएको हो, सुरुमै प्रस्ट पार्नुहोस्
टिकटकमा सुरुको दुईदेखि तीन सेकेन्ड धेरै महत्त्वपूर्ण हुन्छ । तपाईंले भ्युअरलाई जुन वियषको जानकारी दिन खोज्नु भएको हो सुरुमै दिनुहोस् । भूमिका बाँधेर अल्झाइराख्न खोज्नु भयो भने उनीहरू तपाईंको भिडिओ नहेर्न सक्छन् । शब्द, ग्राफिक्स, साउन्ड इफेक्ट, स्टिकरको भरपुर प्रयोग गर्नुहोस् । यस्ता विषय भिडिओमा राख्दा त्यसले अडियन्सलाई आकर्षित गर्छ । फेरि आकर्षित बनाउने भन्दैमा भद्दा किसिमले स्टिकर वा अन्य ग्राफिक्स राख्न हुँदैन । सामान्य, आकर्षित र महत्त्वपूर्ण विषय दर्शाउने ग्राफिक्स राख्नुहोस् ।
४) ट्रेन्डिङ साउन्डको प्रयोग
तपाईंले राम्रो भिडिओ बनाउँदा बनाउँदै पनि कहिलेकाहीं ट्रेन्डिङ साउन्डको प्रयोग नगर्दा भिडिओले राम्रो रिच नपाएको हुनसक्छ । सबै अवस्थामा ट्रेन्डिङ साउन्ड नै उपयुक्त हुन्छ भन्ने हुँदैन । दशैंको माहोल छ, तपाईंले दशैंसम्बन्धी म्युजिक प्रयोग गर्न सक्नुहुन्छ । त्यसले ठूलो अडियन्समा तपाईंको भिडिओ पुर्याउन मद्दत गर्छ ।
५) ह्याशट्याग र क्याप्सन
भिडिओ ठूलो अडियन्समा पुर्याउन ह्याशट्याग र क्याप्सनको धेरै ठूलो भूमिका हुन्छ । तपाईंले जति बढी र सान्दर्भिक ह्याशट्याग राख्नुहुन्छ, भिडिओ त्यस्ता ह्याशट्याग पछ्याउने धेरै अडियन्ससम्म पुग्छ । ह्याशट्याग राख्ने भन्दैमा जे पनि राखिदिनु भएन । तपाईंले पहिले ट्रेन्डिङ ह्याशट्याग र त्यसपछि भिडिओसँग सम्बन्धित ह्याशट्याग राख्न सक्नुहुन्छ । दशैंको भिडिओ राख्दै हुनुहुन्छ भने #Dashain #HappyDashain #Dashain2081 जस्ता ह्याशट्याग राख्न सक्नुहुन्छ । तपाईंले जुन म्युजिक राख्नु भएको छ त्यसको ह्याशट्याग राख्दा पनि उपयुक्त हुन्छ ।
६) उपयुक्त थम्बनेल राख्नुहोस्
तपाईंको भिडिओ सम्बन्धी कसैले सर्च गर्यो भने थम्बनेलले नै भ्युअर आकर्षित गर्छ । त्यसबाहेक तपाईंको प्रोफाइल भिजिट गर्दा त्यहाँ भएको थम्बनेलले थप आकर्षित गर्न सक्छ । त्यसैले हरेक भिडिओमा उपयुक्त थम्बनेल राख्नु उपयुक्त हुन्छ । तर, टिकटकमा थम्बनेल ब्राउजरबाट मात्र परिवर्तन गर्न सकिन्छ ।
७) कम्युनिटी गाइडलाइन्स
कहिलेकाहीं तपाईंको भिडिओले कम्युनिटी गाइडलाइन्स अर्थात् टिकटकले तोकेका मापदण्ड पछ्याएको छैन भने त्यसले रिच नपाउन सक्छ । टिकटकको मापदण्ड के छ, भिडिओ राख्दा कस्ता भिडिओ राख्ने, आफ्नो निच (niche) अर्थात् तपाईंले भिडिओ कस्तो विषयमा बनाउनु हुन्छ र त्यसले टिकटकको मापदण्ड पछ्याउँछ वा पछ्याउँदैन भन्ने ख्याल गर्नुपर्छ । यी सबै पक्ष ख्याल गरिसकेपछि अब भिडिओ अपलोड गर्नुपर्ने हुन्छ । टिकटक प्रतिनिधिका अनुसार भिडिओ राति ९ देखि १० बजेबीच राख्दा टिकटकको फिडमा सबैभन्दा लामो समय १४ देखि १५ घण्टासम्म देखिन्छ । त्यसैले उक्त समयमा भिडिओ राख्दा बढीभन्दा बढी रिच पाउन सकिन्छ । फलोअर बढी छन् भने तपाईंले टिकटक एनालिटिक्स हेरेर अडियन्स कुन समयमा बढी सक्रिय हुन्छन् भन्ने पहिचान गर्न सक्नुहुन्छ । र, त्यही समयमा भिडिओ राख्दा तपाईंका फलोअरले भिडिओ हेर्न पाउने सम्भावना बढी हुन्छ ।