close

टेस्ला र एलन मस्कमाथि लाग्यो साइन्स फिक्सन ‘ब्लेड रनर २०४९’ को कपिराइट मुद्दा

टेकपाना टेकपाना

कात्तिक ७, २०८१ ७:२७

टेस्ला र एलन मस्कमाथि लाग्यो साइन्स फिक्सन ‘ब्लेड रनर २०४९’ को कपिराइट मुद्दा

काठमाडौं । टेस्ला र यस कम्पनीका मालिक एलन मस्क फेरि विवादमा तानिएका छन् । लस एन्जल्समा आधारित प्रोडक्सन कम्पनी अल्कन इन्टरटेनमेन्टले टेस्ला, मस्क र वार्नर ब्रदर्स डिस्कभरी विरुद्ध मुद्दा दायर गरेको हो ।

हालै सम्पन्न ‘वी, रोबोट’ कार्यक्रममा मस्क लगायतले ‘ब्लेड रनर २०४९’ चलचित्रको कपिराइट उल्लङ्घन गरेको आरोप लगाइएकाे छ । यस साइन्स फिक्सनमा आधारित चलचित्रको लाइसेन्स वार्नर ब्रदर्स डिस्कभरीसँग भएपनि कार्यक्रम अन्तर्राष्ट्रिय रूपमा प्रत्यक्ष प्रसारण हुने भएकाले त्यसका लागि आफूबाट अनुमति लिनुपर्ने अल्कनको भनाइ छ । 

हालै सम्पन्न ‘वी, रोबोट’ कार्यक्रममा यस चलचित्रका दृश्यहरू बिना अनुमति प्रयोग गरिएको बताइएको छ । कार्यक्रममा एआई इमेज जेनेरेटर प्रयोग गरी चलचित्रका दृश्यहरूसँग मिल्दोजुल्दो सामग्री तयार पारिएको थियो । अल्कनले कार्यक्रमअघि आफूसँग त्यस्ता दृश्य प्रयोग गर्न अनुमति मागेको तर अस्वीकार गरेको बताएको छ ।  

अल्कनले मस्कको विवादास्पद राजनीतिक गतिविधि र अन्य क्रियाकलापका कारण आफ्नो चलचित्र टेस्लासँग जोड्न नचाहेको पनि जनाएको छ । तर अनुमति नदिइए पनि टेस्लाले चलचित्रका दृश्यहरूलाई आधार बनाएर आफ्नो प्रचार सामग्री तयार पारेको र प्रत्यक्ष प्रसारणमा समेत देखाएको अल्कनले उल्लेख गरेको छ । 

यसअघि सन् २००४ मा रिलिज भएको साइन्स फिक्सन ‘आई, रोबोट’का निर्देशक एलेक्स प्रोयासले समेत मस्कले आफ्नो चलचित्रबाट डिजाइन चोरेको आरोप लगाएका थिए । 

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८१ ७:२७