close

नेपाल भारतबिच जारी साफ महिला च्याम्पियनशिपकी रेफ्री विरुद्ध सामाजिक सञ्जालमा आक्रोश

टेकपाना टेकपाना

कात्तिक ११, २०८१ २०:२२

नेपाल भारतबिच जारी साफ महिला च्याम्पियनशिपकी रेफ्री विरुद्ध सामाजिक सञ्जालमा आक्रोश

काठमाडौं । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा अहिले नेपाल र भारतबिच खेलमा चर्को प्रतिस्पर्धासँगै विवाद चुलिएको छ । हाफ टाइमपछि नेपालकी अग्र पङ्क्तिकी खेलाडी रेखा पौडेलले रातो कार्ड पाएपछि खेलमा विवाद उत्पन्न भएको हो । 

यसले नेपाली समर्थकहरूलाई असन्तुष्ट र आक्रोशित बनाएको छ । दशरथ रङ्गशालामा जारी खेलमा भारतीय खेलाडीलाई फाउल गरेको भन्दै रेफ्रीले नेपालकी फरवार्ड रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड देखाउँदै रातो कार्ड दिएकी थिइन् ।

दोस्रो हाफको सुरुमा पाँच मिनेटमै मुख्य खेलाडी बाहिरिनुपर्ने भएपछि समर्थकहरू आक्रोशित हुँदै रेफ्री ओम चोकीलेको विरोध गर्न थाले । उत्तेजित दर्शकहरूले स्टेडियममा बोतलसमेत प्रहार गरेका छन् भने सामाजिक सञ्जालमा पनि रेफ्रीको आलोचना भइरहेको छ ।

रेफ्री भारतको पक्षमा नेपाल प्रति पूर्वाग्रही रहेको आरोप लगाउँदै नेपाली समर्थकहरूले आक्रोश पोखेका छन् । धेरैले फेसबुक र अन्य सामाजिक सञ्जालमा अपाच्य शब्द प्रयोग गर्दै विरोध जनाइरहेका छन् । ‘रेफ्री’ किवर्ड सर्च गर्ने हो भने फेसबुकमा आक्रोश व्यक्त गर्दै राखिएका अनेकौँ पोस्ट भेटिन्छन् । 

दोस्रो हाफको ३० मिनेटमा भारतले नेपाली पोस्टमा गोल छिराएको थियो । त्यस लगतै खेल सुरु भयो र नेपाली टोलीले खाली पोस्टमा गोल फिर्ता गर्‍यो । त्यसपछि नेपाल र भारत दुबै तर्फबाट रेफ्रीको विरोध भएपछि खेल पुनः निकै बेरदेखि अवरुद्ध छ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८१ २०:३१