close

साफ फाइनल: अनलाइन टिकटको व्यवस्था नहुँदा दर्शकहरू बिहानैदेखि लामो लाइनमा

टेकपाना टेकपाना

कात्तिक १४, २०८१ ८:५२

साफ फाइनल: अनलाइन टिकटको व्यवस्था नहुँदा दर्शकहरू बिहानैदेखि लामो लाइनमा

काठमाडौं । साफ महिला च्याम्पियनशिप अन्तर्गत आज हुने फाइनल खेलका लागि अनलाइन टिकटको व्यवस्था नहुँदा समर्थकहरू बिहानैदेखि लामो लाइनमा लागेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइन टिकटको प्रक्रिया स्थगित गर्दै भौतिक टिकट वितरण गर्ने निर्णय लिएपछि जाउलाखेलस्थित जाउलाखेल फुटबल खेलमैदान र दशरथ रङ्गशालाको उत्तरतर्फ (आर्मी गेट)मा रहेको काउन्टरअघि खेल समर्थकहरूको चाप बढेको हो । 

नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रङ्गशाला​को क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पन्न भएपछि एन्फाले टिकेटिङ पार्टनर माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्ससँगको सम्झाैता रद्द गरेको थियो । यसपछि एन्फा आफैले भौतिक रूपमा टिकट बिक्री गर्ने सुर गरेको हो ।

यस पहिले नै अनलाइन माध्यम (खल्ती)बाट टिकट काटिसकेका समर्थकको हकमा भीआईपी टिकटको रकम फिर्ता हुने र साधारण टिकटलाई मान्यता दिइने एन्फाले जनाएको छ । आर्मी गेटमा रहेको खल्ती डेस्कमा गई आफ्नो डिजिटल टिकट देखाएर भौतिक टिकट लिन सकिने छ ।

एन्फाका अनुसार साफ च्याम्पियनशिपको फाइनलका लागि जम्मा ११ हजार टिकट बिक्री गरिनेछ । यसअन्तर्गत दर्शकहरूलाई अधिकतम दुई भीआईपी र पाँच साधारण टिकट किन्ने अनुमति दिइएको छ ।

नेपाल र बङ्गलादेशबीच हुने फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ः३० देखि सुरु हुनेछ । 

तस्वीर- खेलाडी डटकम


 

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८१ ९:२९