काठमाडौं । गुगल म्याप्समा जेमिनाई एआई-समर्थित सुविधाहरू थपिएका छन् । प्रयोगकर्तालाई नेभिगेसनमा सहयोग गर्ने उद्देश्यले गुगलले म्याप्समा एआई टुल जेमिनाई एकीकृत गरिएको हो ।
कम्पनीका अनुसार नयाँ अपडेटले प्रयोगकर्तालाई यात्राका क्रममा अझ उपयोगी जानकारी र स्थानको बारेमा सुझावहरू प्रदान गर्नेछ । यसअन्तर्गत प्रयोगकर्ताले आफू नजिकका ठाउँहरूमा के गर्न सकिन्छ भन्ने सुझाव पनि पाउन सक्छन् ।
साथै ‘इमर्सिभ भ्यु’ फिचर विश्वभरका १५० सहरमा विस्तार गरिएको छ, जसले नजिकैका भवनहरू र मौसमको अवस्था देखाउन मद्दत गर्छ । यी सुविधा हाल अमेरिकामा रोलआउट भइरहेका छन् । भविष्यमा नेपालसहित अन्य देशमा पनि उपलब्ध हुने बताइएको छ ।
जेमिनाई एआई-समर्थित नयाँ सुविधाहरू
गुगलले आफ्नो ब्लगमा यी नयाँ सुविधाहरूको जानकारी दिएको छ । कम्पनीका अनुसार एआई प्रयोगले हरेक दिन १० करोडभन्दा बढी अपडेटहरू प्रदान गर्न मद्दत गर्छ, जसले गर्दा प्रयोगकर्ताहरूले यात्रा गर्दा सबैभन्दा नयाँ जानकारी पाउन सक्छन् ।
पहिलो सुविधा ‘इन्स्पिरेसन’ हो । प्रयोगकर्ताले ‘थिङ्स टु डु’ मा खोज गर्दा जेमिनाई एआईले सबैभन्दा प्रासंगिक जानकारी क्युरेट गरेर देखाउँछ । उदाहरणका लागि प्रयोगकर्ताले ‘साथीसँग राति के गर्न सकिन्छ ?" सोध्न सक्छन् र म्याप्सले लाइभ म्युजिक, विशेष कार्यक्रम र अन्य स्थानहरू देखाउँछ । यसले विशेष प्रश्नहरूको जवाफ दिन पनि मद्दत पुर्याउँछ, जस्तै कुनै स्थान व्हीलचेयरमैत्री छ कि छैन वा बच्चाहरूका लागि उपयुक्त छ कि छैन भन्ने जानकारी पाउन सकिन्छ ।
यात्रा मार्ग र पार्किङमा सजिलो
यात्रा मार्ग नेभिगेसनमा सुधार गर्दै अब गुगल म्याप्सले लेन, क्रसवाक र सडक संकेतहरू पनि देखाउँछ । यसले प्रयोगकर्तालाई कुन लेनमा रहनुपर्छ भन्ने जानकारी प्रदान गरेर अन्तिम समयमा लेन परिवर्तन गर्नुपर्ने झन्झटबाट बचाउँछ । यसका साथै प्रयोगकर्ताले आफ्नो यात्रा मार्गमा आकर्षक स्थलहरू, भोजनालयहरू र अन्य महत्त्वपूर्ण स्थानहरू थप्न सक्नेछन् ।
प्रयोगकर्ताले अब मौसम सम्बन्धी अवरोधहरू जस्तै; बाढी आएको बाटो आफैं रिपोर्ट गर्न र हेर्न सक्नेछन् । 'एराइभल गाइडेन्स' फिचरले नजिकैको पार्किङ स्थान देखाउने र कार पार्क गरेपछि हिँड्ने बाटो पनि देखाउनेछ ।
इमर्सिभ भ्यु अपडेट
इमर्सिभ भ्यु फिचरलाई पनि सुधार गरिएको छ । अब यसले प्रयोगकर्ताले यात्रा गर्दा मौसम र ट्राफिक अवस्थालाई वास्तविक रूपमा देखाउनेछ । यो सुविधा १५० सहरहरूमा विस्तार गरिएको छ । साथै , यसले पार्किङ स्थान र कुनै कठिन मोडहरू आउँदै छन् भने त्यसको बारेमा पनि जानकारी दिनेछ ।
साथै, यसमा सुधारिएको भिजुअल रियलिटी (भीआर) अनुभव पनि समावेश गरिएको छ, जसले विशेषगरी अपरिचित स्थानमा प्रयोगकर्ताको यात्रालाई सहज बनाउनेछ । त्यस्तै प्रयोगकर्ताले म्याप्सको सर्चमा नै विभिन्न प्रश्न राखेर सर्च गर्न सक्नेछन् । तर एआईले गलत जानकारी दिने जोखिमको चिन्ता पनि व्यक्त गरिएको छ ।
यी सुविधाहरू हालका लागि अमेरिकामा एन्ड्रोइड र आईओएसमा रोल आउट भइरहेका छन् र चाँडै अन्य क्षेत्रमा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।