close

एनआईएमबी बैंकको भिसा वेयरेबल स्टिकर ‘पेवेयर’, कसरी हुन्छ डिजिटल भुक्तानी ?

टेकपाना टेकपाना

कात्तिक १८, २०८१ १८:२४

एनआईएमबी बैंकको भिसा वेयरेबल स्टिकर ‘पेवेयर’, कसरी हुन्छ डिजिटल भुक्तानी ?

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले हालै ‘एनआईएमबी पेवेयर’ नामक भिसा वेयरेबल स्टिकर सार्वजनिक गरेको छ । नेपालमै पहिलोपटक आएको भनिएको यस प्रविधिले ग्राहकलाई पीओएस टर्मिनलमा वेयरेबल डिभाइस ट्याप गरेर छिटो र सुरक्षित रूपमा सम्पर्करहित कारोबार गर्न सजिलो बनाउने बैंकले जनाएको छ । 

यो स्टिकरलाई व्यक्तिगत वस्तुहरू जस्तै घडी, की-चेन, फोन केस आदिमा टाँस्न सकिन्छ । यो प्रविधिले  ग्राहकलाई भौतिक कार्ड वा मोबाइल वालेटको आवश्यकता नपर्ने गरी नयाँ विकल्प प्रदान गर्ने ​बैंकका वरिष्ठ डेपुटी सीईओ महेश शर्मा ढकालले बताए । उनले यो प्रविधिलाई नेपालको भुक्तानी क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउने ‘गेम–चेन्जर’ का रूपमा अघि सारे । 

"भुक्तानी गर्ने तरिका बदल्ने यो प्रविधि पहिलोपटक ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ," उनले भने, "यसले एनआईएमबीलाई डिजिटल नवप्रवर्तनमा अग्रणीका रूपमा स्थापित गर्नेछ ।"

तीन महिनाभित्र पेवेयर स्टिकरको लागि आवेदन दिने तथा एक्टिभेट गर्ने ग्राहकले १२ ओटा पीओएस कारोबार पूरा गरेमा वेयरेबल शुल्क (एक हजार रुपैयाँ) फिर्ता पाउने सुविधा ल्याइएको छ ।

पेवेयरले एनएफसी सक्षम एनआईएमबी एटीएम, पीओएस टर्मिनलहरू र अनलाइन ई-कमर्स भुक्तानीमा पनि सपोर्ट गर्ने बैंकले जनाएको छ । ग्राहकहरूले नेपाल, भुटान र भारतभर यस सेवा प्रयोग गर्न सक्नेछन् ।

एनआईएमबीले पेवेयरको सुरक्षा बढाउन ओटीपी आधारित ‘ग्रीन पिन’ सुविधा पनि दिएको छ, जसलाई २४ घण्टाभित्र परिवर्तन गर्न सकिनेछ । एनआईएमबी पेवेयरले सरल र सहज डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गर्ने अपेक्षा बैंकले गरेको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८१ १८:३३