close

देश हार्न लागेको झोकमा ‘मार्छु’ भन्ने शब्द बोलेँ, माफी चाहन्छु: भ्लगर रतन कार्की

टेकपाना टेकपाना

कात्तिक २१, २०८१ १२:३५

देश हार्न लागेको झोकमा ‘मार्छु’ भन्ने शब्द बोलेँ, माफी चाहन्छु: भ्लगर रतन कार्की

काठमाडौं । भ्लगर रतन कार्कीले 'व्यक्ति मार्छु' भन्ने अभिव्यक्तिका लागि माफी मागेका छन् । पक्राउ पर्ने हल्ला फैलिएपछि टिकटकमा भिडिओ राख्दै उनले देश हार्न लागेको झोकमा ‘मार्छु’ भन्ने शब्द निस्किएको बताएका हुन् । 

“गेम हारिन्छ कि जस्तो लागेर फ्रस्टेसन भएको थियो,” उनले भनेका छन्, “मार्छु भन्ने शब्द मैले बोल्न पुगेछु । त्यसका लागि सबैसँग क्षमा चाहन्छु ।”

विद्यार्थी भिसामा जापान पुगेका २० वर्षीय कार्कीले ‘मार्छु’ भन्ने शब्द जिब्रो चिप्लिएर निस्किएको र कुनै राजनीतिज्ञसँग लक्षित नभएको दाबी गरे । मनोरञ्जनका लागि त्यस्तो शब्द बोलेको भए पनि कसैलाई ‘मार्ने’ वा ‘सिध्याउने’ आशय नरहेको उनले भने । 

साफ महिला च्याम्पियनशिप २०२४ को फाइलन खेलका क्रममा कार्कीले उक्त भिडिओ इन्स्टाग्राम स्टोरीमा राखेका थिए । उक्त भिडिओ उनले केही समयमै हटाए पनि केही व्यक्तिले रेकर्ड गरी सामाजिक सञ्जालमा राखेका थिए ।

उक्त क्लिपमा कार्कीले भनेका थिए, “तपाईंहरू फुटबल हेर्दै हुनुहुन्छ, म अर्कै चिज हेर्दैछु । आज हामीले मार्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घेरेर बस्ने हो भने मार्न सकिन्छ साथीहरू । आज गरिएन भने हामी धेरै पछुताइन्छ ।”

उनको यो अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित रहेको केही सामाजिक सञ्जाल प्रयोगकर्ताको दाबी छ । यद्यपि उनले ओलीको नाम लिएका छैनन्, न त अनुहार नै देखाइएको छ । पृष्ठभूमिमा भने दशरथ रङ्गशालामा भइरहेको नेपाल र बङ्गलादेशबीचको खेलको भिडिओ देखिन्छ ।

उक्त खेल हेर्न प्रधानमन्त्री ओली प्रमुख अतिथिका रूपमा पुगेका थिए । व्यक्तिको नाम तोकेर अभिव्यक्ति नदिएको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ता रतनको समर्थनमा उभिएका छन् ।

यस विषयमा साइबर ब्युरोले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् । उनका अनुसार आवश्यक परेको खण्डमा इन्टरपोल मार्फत कार्कीलाई नेपाल झिकाइने छ ।

FNF Test
 

पछिल्लो अध्यावधिक: कात्तिक २१, २०८१ १२:५९