काठमाडौं । चर्चित म्युजिकल ब्यान्ड (साङ्गीतिक समूह) बिटल्स (Beatles) ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी पूरा गरेको गीत २०२५ को ग्रामी अवार्डका लागि छनोटमा परेको छ । निधन भइसकेका गायक जोन लेननको आवाज रहेको ‘नाउ एन्ड देन’ बोलको गीत दुई ओटा ग्रामी अवार्डका लागि छनोटमा परेको हो ।
नोभेम्बर २०२३ मा सार्वजनिक गरिएको यस गीत 'रेकर्ड अफ दी इयर' र 'बेस्ट रक पर्फमेन्स' का लागि छनोटमा परेको छ । ब्यान्डका अनुसार पुरानो डेमो गीतहरूबाट ब्यान्डका स्वर्गीय गायक जोन लेननको आवाज निकालेर एआई प्रयोग गरी यो गीत तयार गरिएको हो ।
सो डेमो गायक लेननको हत्या हुनुअघि रेकर्ड गरिएको थियो, तर पूरा हुन सकेको थिएन । यसरी यो गीत सन् १९७८ मा तयार पार्दा पार्दै त्यतिकै छाडिएको थियो । यद्यपि एआई प्रयोग गरेर ब्यान्डले गत वर्ष मात्रै यो गीत पूरा गरेको थियो । यो बिटल्सको अन्तिम गीत समेत हो ।
ग्रामीको नियमअनुसार सर्जक मान्छे भएपछि मात्र अवार्डका लागि छानिन्छ । तर सर्जकले गीत/सङ्गीत बनाउने क्रममा केही मात्रामा एआई सामग्री प्रयोग गर्न सक्छन् । यही नियममा रहेर बिटल्सको सो गीत ग्रामी अवार्डमा छनोट भएको हो । यस अवार्ड आउँदो २ फेब्रुअरीमा वितरण हुने छ ।