काठमाडौं । सर्भरमा भाइरस पसेपछि प्रभावित भएको राहदानी विभागको सेवा आजदेखि सञ्चालनमा आएको छ । मङ्गलबार एक सूचना जारी गर्दै राहदानी विभागले सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको हो ।
“राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको छ,” विभागले सूचनामा लेखेको छ, “अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।”
जिल्ला/इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गर्दै जाने विभागको तयारी छ । यसका लागि हाल भाइरसद्वारा सङ्क्रमित सिस्टम मर्मतको काम भइरहेको र बुधबारदेखि परीक्षण कार्य अगाडि बढ्ने विभागले जानकारी दिएको छ ।
यसअघि आवेदन दिइसकेका (बायोमेट्रिकसमेत) सेवाग्राहीहरूको राहदानी छपाई कार्य नियमित प्रक्रियाबाट भइरहेको छ । साथै सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा राहदानी पठाउने कार्य सुरु भइसकेको विभागले जनाएको छ ।