काठमाडौं । सामाजिक सञ्जालमार्फत पत्रकार धम्क्याएका धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध प्रहरीमा उजुरी परेको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले साम्पाङले दिएको धम्कीको विरोध गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।
उनीहरूले उजुरीमार्फत आफ्नो शान्ति सुरक्षाको माग गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमा राई र दाहाललाई लक्षित गर्दै धम्कीपूर्ण टिप्पणी गरेका थिए ।
दाहालले हिमालखबरमा ‘हर्क साम्पाङको मौन मौजी शासन: बेथितिको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए, जसलाई लिएर साम्पाङ गालीगलौजमा उत्रिएका छन् । यसपछि पत्रकारहरूले साम्पाङमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।