काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका विद्यार्थी बिबत थोकरको अनुसन्धान लेख अमेरिकाको प्रतिष्ठित आइट्रिपलई (IEEE) जर्नलमा प्रकाशित भएको छ ।
थोकरले तयार पारेको ‘Medical Image Segmentation for Anomaly Detection using Deep Learning Techniques’ शीर्षकको यस लेखले चिकित्सा क्षेत्रमा डिप लर्निङ प्रविधि प्रयोग गरेर इमेज सेग्मेन्टेसन विधिको सुधार र अनौठा अवस्थाहरूको पहिचानमा नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।
अनुसन्धानको मुख्य उद्देश्य चिकित्सा उपचार प्रक्रियामा प्रयोग हुने मेडिकल इमेजहरूको गहिरो अध्ययन गर्नु थियो, जसमा डिप लर्निङ सेगमेन्टेसन टेक्निकमा आधारित अल्गोरिदमको प्रयोग गरिएको छ ।
मेडिकल इमेज सेग्मेन्टेसन भनेको मेडिकल इमेजलाई विभिन्न भागमा विभाजन गर्ने प्रक्रिया हो । यसले चिकित्सकलाई रोगको अवस्थाबारे सटीक जानकारी दिन्छ । साथै, एमआरआई, सीटी स्क्यान, एक्स–रे जस्ता इमेजिङ उपकरणबाट प्राप्त चित्रहरूलाई विश्लेषण गर्न मद्दत पुर्याउँछ ।
डिप लर्निङ प्रविधिले उपचार प्रक्रियामा समय बचाउँदै चिकित्सा उपकरणहरूको कार्यक्षमतामा सुधार ल्याएको छ । नेपालको स्वास्थ्य सेवा क्षेत्रमा पनि यस प्रविधिको प्रयोग बढ्दै गएको छ ।
अनुसन्धानकर्मी थोकर थापाथली क्याम्पसमा एमएससी इन इन्फर्मेटिक्स एण्ड इन्टेलिजेन्ट सिस्टम्स इन्जिनियरिङ कार्यक्रममा अध्ययनरत छन् । अनुसन्धानको सुपरीवेक्षणमा उनलाई थापाथली क्याम्पसका उपप्राध्यापक विनोद सापकोटा र पुल्चोक क्याम्पसका उपप्राध्यापक डा. बाबुराम दवाडीसँगै प्राडा. शशीधरराम जोशीले सहयोग गरेका छन् ।
उपप्राध्यापक सापकोटा र डा. दवाडीले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त गरेको अनुदानको सहयोगमा यो अनुसन्धान गरिएको हो । अनुसन्धान लेख पढ्न यहाँ क्लिक गर्नुहोस् ।