काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले सामाजिक सञ्जाल एक्समा पुनः आफ्नो पुरानो नाम राखेका छन् । मङ्गलबार मिम करेन्सी ‘केकियस म्याक्सिमस’लाई समर्थन गर्दै परिवर्तन गरिएको नाम बिहीबार मस्कले हटाई आफ्नो वास्तविक नाम राखेका हुन् ।
‘केकियस म्याक्सिमस’ (केकियस) क्रिप्टोकरेन्सी बजारमा देखापरेको नयाँ मिमकोइन हो । एलन मस्कले आफ्नो प्रोफाइल नेम र फोटो आइकन परिवर्तन गरेपछि यो मिमकोइन ट्रेडिङमा आएको थियो । कोइनगेक (CoinGecko) का अनुसार केही घण्टाभित्रै यो कोइनको मूल्य ५०० प्रतिशतभन्दा माथि पुगेको थियो । मङ्गलबार बेलुकासम्म त्यसको मूल्य ९०० प्रतिशतभन्दा माथि पुगेको थियो ।
बुधबार टेस्लाको विद्युतीय गाडी टेस्ला साइबरट्रक विस्फोट भएको घटनापछि एलन मस्कले सामाजिक सञ्जाल एक्समा जानकारी र स्पष्टिकरण दिइरहे । त्यसैलाई जोड दिन केकियस म्याक्सिमस नाम परिवर्तन गरेर मस्कले आफ्नै नाम राखेको बताइएको छ ।
मस्कले आफ्नै पुरानो नाम राखेपछि भने उक्त करेन्सीको मूल्य घट्न थालेको छ । क्वाइन मार्केटक्यापका अनुसार पछिल्लो २४ घण्टामा यस करेन्सीको मूल्य ७०.८४ प्रतिशतले घटेको छ ।
मस्कले ‘केकियस म्याक्सिमस’ को मूल्य बढाउन उनले एक्समा आफ्नो नाम परिवर्तन गरेको सङ्केत दिएका थिए । ‘केकियस म्याक्सिमस’को चरित्र लोकप्रिय ‘पेपे द फ्रग’ चरित्र र ‘ग्ल्याडिएटर’ चलचित्रको चरित्र ‘म्याक्सिमस’ लाई मिलाएर बनाइएको मिममा आधारित छ । एलन मस्कले आफ्नो नाम मिमकोइन शीर्षकमा किन परिवर्तन गरे भनेर अहिलेसम्म पनि खुलाएका छैनन् । तर अर्बपति सीईओले आफ्नो नयाँ अवतारबारे कुरा गर्दै एक्समा केही पोस्ट राखेका छन् ।
एक पोस्टमा उनले लेखेका थिए, “कल्पना गर्नुहोस् त ! एक पत्रकारले एक्समा एलन मस्कबारे लेख्दै भन्यो: 'एलन मस्क उर्फ ‘केकियस म्याक्सिमस’ ।” उनले यो पोस्ट शेयर गर्दै लेखे, “यो अमूल्य हुनेछ ।”
अर्को एक पोस्टमा उनले यस क्रिप्टोकरेन्सीबारे भविष्यवाणी गरेका थिए । “केकियस म्याक्सिमस छिट्टै लेभल ८० मा पुग्नेछ,” एआईले तयार पारेको फोटो राख्दै उनले लेखेका थिए ।
के हो मिमकोइन क्रिप्टोकरेन्सी ?
मिमकोइन क्रिप्टोकरेन्सीको एउटा प्रकार हो, जुन इन्टरनेटमा भाइरल हुने हास्यपूर्ण तस्बिर, भिडिओ वा विचार (मिम) बाट प्रेरित भएर बनाइन्छ । यसको सुरुवात प्रायः मनोरञ्जन र ठट्टाका लागि हुन्छ । उदाहरणका लागि, ‘डजकोइन’ पहिलो र चर्चित मिमकोइन हो, जुन कुकुरको तस्बिरबाट प्रेरित थियो ।
मिमकोइनको मूल्य प्रायः यसको प्रचार, प्रयोगकर्ताको समर्थन र भाइरल हुने क्षमतामा निर्भर हुन्छ । यस्ता क्रिप्टोकरेन्सी मनोरञ्जनका लागि चर्चित भए पनि लगानी गर्दा सावधानी अपनाउनुपर्छ किनभने यसको मूल्य निकै उतारचढाव हुने गर्छ ।