काठमाडौं । ओपनएआईका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले कम्पनीले सामना गरेको वित्तीय चुनौतीबारे खुलासा गरेका छन् । सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै अल्टम्यानले प्रिमियम प्रयोगकर्ताले अपेक्षा गरेभन्दा बढी प्रयोग गर्न थालेपछि कम्पनीको खर्च बढेको जनाएका हुन् ।
“अचम्मको कुरा, हामी अहिले ओपन एआई प्रोको सब्स्क्रिप्सनमा घाटामा छौं,” उनले लेखेका छन्, “मानिसहरूले यसलाई हाम्रो अपेक्षाभन्दा धेरै प्रयोग गरिरहेका छन् ।”
च्याटजीपीटी प्रोको सब्सक्रिप्सन च्याटजीपीटीको सबैभन्दा स्तरीय र महँगो सब्सक्रिप्सन हो । यसले प्रयोगकर्तालाई जीपीटी-फोर मोडेलमा पहुँच दिन्छ । मासिक २०० डलर तिरेर यो सब्स्क्रिप्सन लिंदा च्याटजीपीटीका प्रायः सबै मोडेल प्रयोग गर्न सकिन्छ । विशेषगरी ओपनएआई ओ वन, ओ वन मिनी, जीपीटी फोर ओ प्रयोग गर्न सकिन्छ ।
यो सब्स्क्रिप्सन पेसेवर, व्यवसाय र विद्यार्थीका लागि एक आकर्षक विकल्प बनेको छ । यसको सहायताले उनीहरू उत्पादकत्व र सिर्जनशीलता वृद्धि गर्न खोजिरहेका छन् । प्रो मेम्बरले छिटो प्रतिक्रिया पाउने, च्याटजीपीटीमा अत्यधिक ट्राफिक हुँदा पनि प्राथमिकता पाउने र जीपीटी फोरद्वारा सञ्चालित स्तरीय फिचर प्रयोग गर्न पाउँछन् ।
अल्टम्यानको धारणले एक प्रमुख समस्यालाई उजागर गरेको छ । विशेषगरी प्रयोगकर्ताले अपेक्षा गरेको भन्दा बढी खपत गर्न लागेको भनाइले थुप्रै पक्षलाई दर्शाएको छ ।
च्याटजीपीटीको प्रो मेम्बरशिप ठूलो स्तरको एआई मोडेल सञ्चालनका लागि लाग्ने उच्च लागतलाई पूर्ति गर्न डिजाइन गरिएको हो । तर, वर्तमान अवस्थामा यो जसरी प्रयोग भइरहेको छ, त्यो ओपनएआईको वित्तीय मोडेलका लागि अस्थिर साबित भइरहेको विज्ञहरूले बताएका छन् । जीपीटी-फोर जस्ता ठूला ल्याङ्ग्वेज मोडेललाई पर्याप्त कम्प्युटेसनल स्रोत आवश्यक हुन्छ । जसले गर्दा क्लाउड कम्प्युटिङ र सर्भर खर्च बढिरहेको छ ।
अल्टम्यानको यस भनाइले प्रविधि कम्पनीलाई शक्तिशाली र सजिलै पहुँच हुने टुल विकास गर्दा आर्थिक स्थिरता कायम राख्न कत्तिको चुनौतीपूर्ण हुन्छ भन्ने देखाएको छ । ओपनएआईको प्रो मेम्बरशिपको मोडेलले नयाँ चुनौतीको सामना गरिरहेको स्पष्ट हुन्छ ।
अल्टम्यानको खुलासापछि ओपनएआईका आगामी कदमबारे चासो बढेको छ । विशेषगरी अल्टम्यानले हालै २०२५ सम्ममा एआईले मानिसहरूको कामलाई प्रतिस्थापन गर्ने आफ्नो भविष्यवाणीबारे पोस्ट गरेका थिए । त्यसले पनि यस विषयलाई गम्भीरतापूर्वक लिन बाध्य बनाएको छ ।