काठमाडौं । शनिबार राति साढे १० बजे क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जालका विभिन्न माध्यममा आफ्ना समर्थकलाई धन्यवाद दिँदै पोस्ट राखे । ३ माघमा सम्पन्न भएको जय ट्रफी कपमा औसत प्रदर्शन गरेका लामिछानेले राष्ट्रिय टिमको पोशाक लगाएको फोटो पोस्ट गरेका थिए ।
उक्त पोस्टमा लामिछानेले लेखेका छन्, “सबै जनालाई सबै कुराका लागि धन्यवाद । यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसले सधैं मेरो साथ दिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटुट समर्थन जनाएका छन् । तपाईंहरूको माया र प्रोत्साहन मेरो लागि धेरै महत्त्वपूर्ण छ र यो सधैं मेरो हृदयमा विशेष स्थानमा रहनेछ । म धेरै आभारी छु ।”
लामिछानेले कुन सन्दर्भमा किन यो पोस्ट राखे भन्ने खुलाएका छैनन् । त्यसैले पोस्टलाई मात्र लिएर सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न अड्कलबाजी गर्न थालेका छन् ।
उनको पोस्टमा आएका अधिकांश कमेन्ट हेर्दा उनले राष्ट्रिय टोलीबाट सन्यास लिन लागेको अनुमान लगाएका छन् । ‘ह्याप्पी रिटायरमेन्ट’ भन्दै अधिकांशले दुई शब्दका कमेन्ट वर्षाएका छन् ।
केहीले भने लामिछानेले नेपालबाट सन्यास लिएर अर्को कुनै देशको राष्ट्रिय टोलीबाट खेल्न लागेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । कतिपयले भने लामिछानेले ‘एटेन्सन’ पाउन यस्तो पोस्ट राखेको दाबी गरेका छन् ।
लामिछानेको पोस्टमा कमेन्ट गर्दै रमेश तिमिल्सिना लेख्छन्, “एटेन्सन चाहिंदो रै’छ थैट भाइलाई । खुरुखुरु जे गर्न लाको हो, त्यसको निर्णय लिए त सक्किगोनी ।”
केहीले भने लामिछाने खराब परिस्थितिबाट गुज्रिरहेकाले यस्तो बेला सहानुभूति दिनुपर्ने भन्दै हौसला दिने शब्द वर्षाइरहेका छन् ।
“प्लिज सन्दीप, तिमी आफ्नो उत्कृष्ट समयमा जस्तो थियौ त्यस्तै बन । हामीले जुन सन्दीपलाई चिनेका थियौ, जसको लागि हामीले विरोध गर्यौं, त्यही सन्दीप बन । आफ्नै खेलाडी, समर्थक र अम्पायरसँग अनावश्यक आक्रामक व्यवहार देखाउन बन्द गर । हामीले तिमीलाई चिनेको जस्तो विनम्र र शान्त बन । - तिम्रो एक सच्चा प्रशंसक,” जितेन्द्र ऐरीले लामिछानेको पोस्टमा कमेन्ट गर्दै लेखेका छन् ।
त्यस्तै अमृता बुढाथोकीले कमेन्टमा लेखेकी छिन्, “प्रिय भाइ सन्दिप, तिमीलाई अहिले नै सन्यास लिने छुट हामी नेपाली समर्थकले दिनेछैनौं ।”
कतिपयले भने लामिछानेले नबुझिने किसिमको पोस्ट राखेर समर्थकलाई भ्रममा पार्न खोजेको भन्दै आक्रोश पोखेका छन् । यसैलाई लिएर विभिन्न सञ्चार माध्यमले लामिछानेलाई सम्पर्क गर्ने प्रयास गरेको जनाएका छन् । तर, उनको फोन अफ छ । यस विषयमा नेपाल क्रिकेट संघ (क्यान) पनि अस्पष्ट भएको देखिएको छ ।
“सामाजिक सञ्जालमा राखिने पोस्ट वा विचार व्यक्तिका नितान्त व्यक्तिगत विचार हुन्,” टेकपानासँग कुरा गर्दै क्यानका प्रवक्ता छुम्बी लामाले भने, “हामीलाई उहाँले औपचारिक वा अनौपचारिक रूपमा केही भन्नु भएको छैन ।”