close

डिशहोमले टाइगर कप भलिबल च्याम्पियनशिप देखाउने

टेकपाना टेकपाना

माघ १०, २०८१ १७:८

डिशहोमले टाइगर कप भलिबल च्याम्पियनशिप देखाउने

काठमाडौं । पोखराको टाइगर ग्रुपले आयोजना गर्ने पाँचौं टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको प्रसारण अधिकार डिशहोमले खरिद गरेको छ । यस अन्तर्गत डिशहोमको एक्सन स्पोर्ट्स एचडी वनमा यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुनेछ । ग्राहकले टेलिभिजन वा डिशहोम गो एपमार्फत प्रतियोगिता हेर्न सक्नेछन् ।

माघ २५ देखि फागुन १ गतेसम्म हुने प्रतियोगितामा पुरुष र महिला दुवै विधामा एक–एक अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन्, जसमा पुरुषतर्फ भारत र महिलातर्फ थाइल्याण्डका भलिबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक विधामा ६ गरी कुल १२ टोलीले पाँचौं संस्करणमा भाग लिनेछन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब (अमिन, भारत), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ एपीएफ क्लब, न्यू डायमण्ड स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब रहेका छन् ।

सन् २०२० मा टाइगर ग्रुप स्थापना भएदेखि पोखरा रंगशालामा आयोजना हुँदै आएको प्रतियोगितामा यस संस्करणमा विजेताले पाँच लाख ८५ हजार ५५५ रुपैयाँ, उपविजेताले दुई लाख ८५ हजार ५५५ रुपैयाँ र तेस्रो हुने टोलीले एक लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको एमभीपीलाई २५ हजार ७७७ रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट सर्भर, सेटर, लिबेरो, स्पाइकर र प्रशिक्षक लगायत व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले जनही १०,५५५ रुपैयाँ पुरस्कार राशि पाउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०८१ १७:८