close

कारमा हुने एडीएएस प्रविधि के हो ?

टेकपाना टेकपाना

माघ १४, २०८१ १३:२९

कारमा हुने एडीएएस प्रविधि के हो ?

काठमाडौं । एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) त्यस्तो डिजिटल प्रविधि हो, जसले सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्छ । गाडीलाई पूर्णरूपमा स्वचालित बनाउनु भन्दा पनि यस प्रणालीले नेभिगेसन तथा पार्किङ प्रक्रियाका लागि कम्प्युटर नेटवर्क मार्फत रियल-टाइम डेटा उपलब्ध गराएर ड्राइभिङलाई सुरक्षित बनाउँछ । 

एडीएएस प्रणाली कारको सुरक्षा बढाउने प्राविधिक पाटो हो । यस प्रणालीबाट मानिस र प्रविधिको संयुक्त संयोजनले ‍सडकमा आइपर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै चालकले सरल तरिकाले गाडी चलाउन सक्ने क्षमताको विकास गर्छ । यी उपकरणहरूले कुनै जोखिम आउन लागेमा पहिले नै वार्निङ पठाउने वा अटोमेटेड प्रणालीमा लैजाने काम गर्छन् । 

पछिल्लो समय कुनै कार कत्ति राम्रो छ भनेर बुझ्न त्यसको एडीएएस कस्तो छ भनेर विचार गर्ने गरिन्छ । कार निर्माता कम्पनीले बजारमा गइसकेका कारमा पनि यसका इलिमेन्ट्स र प्रणाली थपेर कारलाई थप सुरक्षा प्रदान गर्न सक्छन् । 

भनिन्छ, सवारी दुर्घटना मानवीय त्रुटिले निम्तिने गर्छन् । यसलाई रोक्न एडीएएस जस्ता आधुनिक चालक सहायता प्रविधिहरूको प्रयोग गर्न सकिन्छ । यो प्रविधिको उद्देश्य मानवीय त्रुटिबाट हुनसक्ने सवारी दुर्घटनाहरू कम गर्नु हो । यस्तै गाडीको स्पिड घटाएर दुर्घटना, मृत्युजस्ता घटनालाई रोक्नु हो । 

यस प्रणालीले यातायात, सडकमा आएका अवरोधहरू, ट्राफिक जाम सम्बन्धी डेटा दिएर ती सडकको साटो प्रयोग गर्न सकिने वैकल्पिक सडकको जानकारी उपलब्ध गराउँछ । चालकको थकान र ड्राइभिङमा ध्यान केन्द्रित नभएको अवस्था डिटेक्ट गरेर चेतावनी दिने काम गर्छ । चालकको ड्राइभिङ कस्तो छ भनेर विश्लेषण गर्ने र सिफारिस उपलब्ध गराउने काम पनि यसले गर्न सक्छ । 

यो प्रणालीले सम्भावित खतराको पहिचान गर्ने, क्रुज कन्ट्रोलजस्ता सामान्य कामदेखि ओभरटेकिङ र पार्किङजस्ता चुनौतीपूर्ण कार्यमा नियन्त्रण बनाउन सक्छ । 

पछिल्लो समयका कतिपय सवारी साधनहरूमा विशेष सुरक्षा प्रदान गर्ने यस्ता फिचर आइरहेका छन् । मनिटरिङ सिस्टमका लागि राखिएका क्यामेराको प्रयोग गरेर कारको अगाडि, पछाडि, दायाँ र बायाँ भागको अवस्थाबारे जानकारी दिने, लेन डिपार्चर वार्निङ सिस्टम वा ब्लाइन्ड स्पट वार्निङ सिस्टम जस्ता माइक्रो कन्ट्रोलर सेन्सरहरू यसमा पाउन सकिन्छ । 

एडीएस प्रणालीमा एडप्टिभ क्रुज कन्ट्रोल (ACC), एन्टी-लक ब्रेकिङ सिस्टम, फर्वार्ड कोलिसन अलर्ट, हाइ बिम प्रोटेक्सन सिस्टम, लेन डिपार्चर अलर्ट, ट्राफिक लाइट्स ट्राक्सन कन्ट्रोल रिकग्निसन जस्ता फिचर समावेश भएका हुन्छन् । यो प्रणालीका विशेषता कारको अगाडि राखिएका क्यामेरा वा कार वरिपरिका दृश्य खिच्न प्रयोग गरिएका क्यामेरामा निर्भर हुन्छन् ।  लाइट डिटेक्सन एन्ड रेन्जिङ (LIDAR) वा रेडियो डिटेक्सन एन्ड रेन्ज (RADAR) ले दिने जानकारीहरू पनि यसमा थपिएका हुन्छन् ।  

एडीएएस क्यामेरा कारको रिअर भ्यु ऐनाको पछाडि राखिएका हुन्छन् । क्यामेरा सफा राख्नका लागि ऐनाको वाइपर एरियाको अगाडि यी क्यामेरा राखिएका हुन्छन् । 

एडीएएसले कसरी काम गर्छ ?

एडीएएसले क्यामेरा-आधारित सेन्सर प्रयोग गरेर चालकलाई ड्राइभिङ वातावरणमा बढी सजग बनाउन मद्दत पुर्‍याउँछ। यसमा  सिस्टम अन अ चिप (SoCs) पनि प्रयोग गरिएको हुन्छ । एसओसीएस त्यस्ता चिपहरूको सङ्ग्रह हो, जसले स्वचालित रूपमा सोलुसन उपलब्ध गराउँछ । यस्ता चिपले सेन्सरलाई मसिन सञ्चालन गर्ने एक्युएटर्स र हाई-प्रर्फमेन्स इलेक्ट्रोनिक कन्ट्रोल युनिट (ECUs) सँग जोड्छन् ।

पछिल्लो समयका सवारीमा डिजाइन गर्ने समयमा नै एडीएएस प्रणाली समावेश गरिएको हुन्छ । जब सवारी निर्माता कम्पनीहरूले नयाँ सवारी मोडेलमा नयाँ सुविधाहरू थप्छन्, पुराना मोडेलमा पनि यसलाई अपग्रेड गरी दिन सक्छन् । यी सिस्टमहरूले विभिन्न प्रकारका डेटा इनपुट प्रयोग गरेर उच्चस्तरको सुरक्षा प्रदान गर्दछन् ।

यसले उच्च गुणस्तरको सेन्सर प्रणाली प्रयोग गरेर नाङ्गो आँखाले देख्न नसक्ने किसिमको कारको दृश्य प्रदान गर्छ । यसले ३६० डिग्रीकै दृश्य थ्रीडीमा देखाउने र चर्को उज्यालो वा अँध्यारोमा पनि राम्रो दृश्य प्रदान गर्न रियल-टाइम डेटा उपलब्ध गराउने काम गर्छ । 

यो प्रणाली कारबाट अन्य कारहरूसँग सञ्चार गर्ने क्षमता पनि राख्छ । यी कारमा वायरलेस नेटवर्कबाट अन्य कारहरूसँगबाट डेटा र पूर्वाधारका बारेमा जानकारी पनि लिन सक्छ । जस कारण थप सुरक्षा प्राप्त हुन्छ । 

एडीएएसका प्रकार

प्यासिभ एडीएएस सिस्टमः यो प्रणालीमा कम्प्युटरले चालकलाई खतरनाक परिस्थितिको चेतावनी दिन्छ । चेतावनी पाएपछि चालकले दुर्घटना टार्नका लागि आवश्यक कदम चाल्नुपर्ने हुन्छ । सामान्य चेतावनी प्रणालीले साइरन, फ्ल्याश लाइट र केही अवस्थाहरूमा स्टेरिङ व्हिल कम्पन गरेर चालकलाई खतराको जानकारी दिन्छ । चालकले जान खोजेको क्षेत्रमा अरू कारले ठाउँ लिइसकेको कुराको जानकारी ब्लाइन्ड स्पट डिटेक्सनले गराउँछ । 

कार चलाइरहेको बेलामा महत्त्वपूर्ण जानकारी उपलब्ध गराएर चालकलाई उपयुक्त निर्णय लिन सहयोग पुर्‍याउँछ । यस प्रणालीले कार चलाइरहेको बेलामा रियल-टाइम डेटा प्रदान गर्दछ र सम्भाव्य जोखिमहरूको बारेमा ह्युमन-मसिन इन्टरफेस (HMI) मार्फत चेतावनी दिन्छ । 

यसले दृश्य, श्रव्य र कम्पनमार्फत डेटा उपलब्ध गराउँछ ।  दृश्य र अडियो मार्फत चेतावनी दिने काम सबैभन्दा बढी गरिएको हुन्छ । भिजुअल मेसेज दिन प्रतीकात्मक जानकारी र रङको प्रयोग गरिन्छ । जसमा कारको ड्याशबोर्ड वा सेन्ट्रल प्यानलमा चेतावनीमूलक सङ्केतहरू देखाउन सक्छ । तर यस्तो दृश्यले चालकको ध्यान सडकबाट भड्काउन सक्छ । 

एक्टिभ एडीएएस प्रणाली 

यो प्रणालीमा कार आफैँ सक्रिय हुन सक्छ । यदि कुनै दुर्घटना हुन लागेको अवस्था आएमा त्यसलाई रोक्न कार आफैँले काम गर्न सक्छ । अटोमेटिक इमर्जेन्सी ब्रेकिङ (AEB) प्रणालीले नजिकको दुर्घटनाको पहिचान गर्छ र चालकको सहायता बिना ब्रेक लगाइदिन्छ। 

यो प्रणालीमा एडप्टिभ क्रुज कन्ट्रोल (ACC), लेन किपिङ असिस्ट (LKA), लेन सेन्ट्रिङ (LC) र ट्राफिक जाम असिस्टजस्ता फिचर समावेश छन् । गाडी चलाइरहँदा अगाडि कम स्पिडको गाडी आएमा यो प्रणालीले कारको गति पूर्व निर्धारित सेटिङबाट स्वचालित रूपमा परिवर्तन गर्छ । लेन किपिङ असिस्ट र लेन सेन्ट्रिङले स्वचालित रूपमा सवारीलाई लेनको सीमाभित्र राख्न मार्गदर्शन गर्छ । ट्राफिक जाम असिस्ट एडप्टिभ क्रुज कन्ट्रोल (ACC) र लेन सेन्ट्रिङ (LC) ले ट्राफिक जामको अवस्थाको जानकारी गराउँछ । 

एडीएएस यसको प्रदर्शन तथा फिचरका आधारमा विभिन्न भर्सनमा उपलब्ध छ । 

लेभल ०: नो ड्राइभिङ अटोमेसन 

यो संस्करणको एडीएएसमा स्वचालित रूपमा गाडी चल्ने प्रणाली हुँदैन । चालकमाथि नै गाडी कसरी चलाउने भन्ने सम्पूर्ण जिम्मेवारी हुन्छ । 

यो संस्करणमा रिभर्सिङ क्यामेरा, सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, स्वचालित इमर्जेन्सी ब्रेकिङ, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल (ESC), र एन्टी-लक ब्रेकिङ सिस्टम (ABS) जस्ता सुविधाहरू समावेश हुन्छन् ।

यी सुविधाहरूले गाडीको सञ्चालनलाई प्रत्यक्ष रूपमा नियन्त्रण नगरे पनि सुरक्षित रूपमा ड्राइभिङ गर्न मद्दत गर्दछन् ।

लेभल १ :  ड्राइभर असिस्टेन्ट

यो संस्करणमा गाडी स्वचालित हुनसक्ने सुविधा उपलब्ध हुन्छ । 

निश्चित परिस्थितिहरूमा चालकलाई मद्दत गर्न यो प्रणालीले केही ड्राइभिङ कार्यहरू नियन्त्रण लिन सक्छ । तर यस संस्करणमा ड्राइभिङको लागि चालक नै पूर्ण रूपमा जिम्मेवार हुन्छ ।

यो संस्करणमा एडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुविधाहरू समावेश हुने गर्दछन् । जसले अगाडि गुडिरहेको सवारीसँगको दूरी पत्ता लगाएर कार आफैँले आवश्यक दुरी कायम राख्न राडार सेन्सरको प्रयोग गर्छ ।

लेभल २: आंशिक ड्राइभिङ अटोमेसन

यस संस्करणका एडीएएस प्रणालीमा गाडीले स्टेरिङ र एक्सेलेरेसनमा नियन्त्रण लिन सक्छ । यसमा अटो पार्किङ गर्न सकिने सुविधा समावेश गरिएको हुन्छ । यो प्रणाली भएका कारले गति नियन्त्रण गर्ने, ब्रेक र स्टेरिङ चलाउने अनुमति पाउँछ। 

यी सबै काम कारले नै गर्न सक्ने भएपनि चालक भने आफ्नो सिटमा सजग भएर बस्नु पर्छ । यो संस्करणको एडीएएस प्रणाली टेस्लाका अटोपाइलट गाडीहरूमा उपलब्ध छन् । 

लेभल ३: कन्डिसनल ड्राइभिङ अटोमेसन 

कन्डिसनल ड्राइभिङ अटोमेसनमा प्रणाली भएका कारमा एआई र  चालक सहायता प्रणालीमार्फत सूचित हुने र आवश्यकता अनुसार निर्णय पनि लिन सक्ने क्षमता हुन्छ । 

चालक अन्य काममा व्यस्त भएको बेला यस्ता गाडीले नै स्टेरिङ, ब्रेकिङ र एक्सेलेरेसनलाई सम्हाल्न सक्छ । तर ती प्रणालीमा आवश्यक पर्दा चालकले गाडी नियन्त्रणमा लिन तयार रहनुपर्छ । 

जर्मन कम्पनी मर्सिडिज-बेन्जको ड्राइभ पाइलट यस संस्करणको एडीएएस जडित गाडीको उदाहरण हो । 

लेभल ४: उच्च ड्राइभिङ अटोमेसन 

यस संस्करणको एडीएएस जडित कारले धेरै परिस्थितिहरूमा आफैँ निर्णय लिन सक्ने क्षमता राख्छ ।  यी कारहरू स्वचालित रूपमा चल्न सक्ने भएपनि  निश्चित क्षेत्रहरूमा मात्र चल्न सीमितता हुन्छ।

चालकले आवश्यक परेमा कारलाई आफ्नो नियन्त्रणमा लिन सक्ने विकल्प उपलब्ध गराइएको हुन्छ । हालसम्म यो संस्करणका एडीएएस जडित धेरै जसो कारहरू ट्याक्सी उद्योगमा प्रयोग हुने गरेका छन् । 

लेभल ५: पूर्ण ड्राइभिङ अटोमेसन

​​'पूर्ण ड्राइभिङ अटोमेसन' त्यस्तो एडीएएस प्रणाली हो, जसमा कुनै मानव हस्तक्षेप वा निरीक्षण बिना नै गाडी चल्न सक्छ । 

यस्ता गाडीमा गाडी नियन्त्रणका लागि प्रयोगमा आउने पेडल, स्टेरिङ ह्विल ‍पनि राखिएका हुँदैनन् । यस्तै गाडीमा मानिसले कहाँ पुग्नुपर्ने भनेर लोकेसन राखिदिएपछि गाडी आफैँले स्वचालित रूपमा गन्तव्य सम्म पुर्‍यादिन्छ । 

यस संस्करणका गाडीहरू हालसम्म मानिसहरूले प्रयोग गर्न मिल्नेगरी उपलब्ध भइसकेको छैनन् । तर, संसारभर नै यसको विकास भने भइरहेको छ । 

पछिल्लो अध्यावधिक: माघ १४, २०८१ १३:३०