close

‘ट्रोल नेपाल’ को फेसबुक पेज एकाएक गायब, के होला कारण ?

टेकपाना टेकपाना

माघ १५, २०८१ १८:३६

‘ट्रोल नेपाल’ को फेसबुक पेज एकाएक गायब, के होला कारण ?

काठमाडौं । ‘ट्रोल नेपाल’ नामक फेसबुक पेज एकाएक गायब भएको छ । नौ लाख बढी फलोअर भएको उक्त पेज मङ्गलबारदेखि हराएको हो । पेजका सञ्चालकले यो नेपालको सबैभन्दा पहिले खोलिएको ट्रोल पेज भएको दाबी गर्ने गर्छन् । पेज गायब हुनुको कारण बाहिर आएको छैन ।

यस विषयमा पेजका सञ्चालक कुमार व्यञ्जनकारसँग सम्पर्कको प्रयास भए पनि सफल हुन सकेन । इन्स्टाग्राममा भने उक्त पेजको अकाउन्ट यथावत् छ । तर, त्यसमा पनि फेसबुक पेज गायब हुनुको कारण खुलाइएको छैन ।

सोमबार मन्त्रिपरिषद्ले सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाउने उद्देश्यको विधेयक संसद्मा दर्ता गरेको थियो । विधेयक दर्ता भएको समाचार आएपछि त्यस विषयमा व्यापक चर्चा भइरहेको छ । विधेयकको दफा १६ मा ‘कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने’ उल्लेख छ । 

यस्तो गरेको पाइएमा पाँच लाख रुपैयाँसम्म जरिवाना तोक्न सकिने कानुन प्रस्ताव गरिएको छ । यसैको विरोध गर्न पेज बन्द गरिएको हुन सक्ने केही अनुमान गरेका छन् ।

ट्रोल नेपाल पेजले लामो समयदेखि सामाजिक विषयवस्तुमा व्यङ्ग्यात्मक तरिकाले ट्रोल बनाउँदै आएको छ । कतिपय प्रयोगकर्ताले भने ट्रोल नेपालका पोस्टलाई लिएर असन्तुष्टि समेत प्रकट गर्दै आएका छन् ।

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङले २०२३ मा उक्त पेजले राखेको उनको भिडिओलाई लिएर आपत्ति जनाएकी थिइन् । उनले लेखेकी थिइन्, “प्रिय ट्रोल नेपालका लागि २४ घण्टाको अल्टिमेटम समय दिएको छु । डिलिट गर्नु भो र माफी माग्नु भो र आत्मालोचना गर्नु भो ठीक छ । नत्र भने २४ घण्टा सकिए पछि केस भोलि दर्ता हुने तयारी हुँदै रहेको जानकारी गराउँछु ।”

पछिल्लो अध्यावधिक: माघ १५, २०८१ १८:४४