काठमाडौं । चलचित्र ‘एक्टर: टेक वान’ को प्रदर्शन रोकिएपछि अग्रिम टिकट बुकिङ गरेका दर्शकलाई रकम फिर्ता दिइने भएको छ । नेपाली सिनेमाको सबैभन्दा ठूलो सञ्जाल क्यूएफएक्स सिनेमाले एक सूचना जारी गर्दै अग्रिम टिकट लिएका दर्शकको रकम फिर्ता गर्ने जानकारी दिएको हो ।
क्यूएफएक्सले निर्धारित शोटाइमका लागि सबै टिकटहरू पूर्ण रूपमा फिर्ता गरिने जनाएको छ । तर रकम कसरी फिर्ता हुनेछ भन्ने विषयमा स्पष्ट खुलाइएको छैन ।
काठमाडौं जिल्ला अदालतको आदेशपछि चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शन तत्कालका लागि रोकिएको हो । माघ ४ देखि प्रदर्शनरत अर्को चलचित्र ‘एक्टर’को निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले आफ्नो चलचित्रसँग नाम जुधेको भन्दै ‘एक्टर: टेक वान’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेको थियो ।
उक्त रिटमा मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले तत्कालका लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतले २२ माघमा दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
‘एक्टर: टेक वान’ को मंगलबार प्रिमियरसमेत गरिएको थियो । विभिन्न मल्टिप्लेक्स हलहरूमा ओपनिङका लागि चलचित्रले १६० ओटा शो पाएको थियो भने सोमबारदेखि चलचित्रको अग्रिम टिकट बुकिङ सुरु भएको थियो ।
मंगलबार अदालतको आदेश आएको बेला कतिपय दर्शकहरूले चलचित्रको अग्रिम टिकट बुकिङ गरिसकेका थिए ।
राजन भुसालले निर्देशन गरेको ‘एक्टर: टेक वान’ मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला लगायतको अभिनय छ ।