काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभले बीमा कार्यक्रम सुरु गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको सहकार्यमा कम्पनीले आफ्ना राइडर र यात्रुका लागि बीमा सुविधा ल्याएको हो ।
यस विषयमा हालै इनड्राइभ नेपालको तर्फबाट निर्देशक रिता पोखरेल र सगरमाथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीबीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार इनड्राइभको सवारी प्रयोग गर्ने यात्रु तथा चालकहरूका लागि दुर्घटना बीमा लागू हुनेछ । दुर्घटनाका कारण मृत्यु भएमा मृतकका परिवारलाई आठ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिइनेछ । त्यस्तै पूर्ण रूपमा अशक्त भएमा समेत आठ लाख रुपैयाँ सहायता गरिनेछ ।
त्यस्तै, दुर्घटनाका कारण औषधोपचार गर्न ८० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा उपलब्ध गराइनेछ । नाबालिग यात्रुहरूको हकमा भने क्षतिपूर्ति रकमको ५० प्रतिशत प्रदान गरिने व्यवस्था गरिएको छ ।