close

नेपालको बजेटभन्दा ६०० प्रतिशत बढीमा च्याटजीपीटी निर्माता ओपनएआई खरिद गर्ने एलन मस्कको प्रस्ताव

टेकपाना टेकपाना

माघ २९, २०८१ ११:३०

नेपालको बजेटभन्दा ६०० प्रतिशत बढीमा च्याटजीपीटी निर्माता ओपनएआई खरिद गर्ने एलन मस्कको प्रस्ताव

काठमाडौं । सिलिकन भ्यालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रतिस्पर्धा चर्किरहेको बेला अर्बपति उद्यमी एलन मस्कले ओपनएआई किन्ने प्रस्ताव राखेका छन् । मस्कले सोमबार ‘गैर-नाफामुखी’ संस्था ओपनएआईलाई ९७.४ अर्ब अमेरिकी डलर (करिब १३६ खर्ब ३ अर्ब रुपैयाँ)मा खरिद गर्ने प्रस्ताव ओपनएआई बोर्डमा पठाएका हुन् । 

वाल स्ट्रिट जर्नलका अनुसार, मस्कको एआई कम्पनी एक्सएआई र अन्य ठूला लगानीकर्ता जस्तै; थेलर इक्विटी पार्टनर्स, हलिउडका ठूला व्यवसायी एरी इमानुएल तथा पलान्टिरका सहसंस्थापक जो लोन्सडेलको भेन्चर फर्म एट भीसी यस योजनामा एकैसाथ जोडिएका छन् । यो प्रस्ताव ओपनएआईको भविष्यका लागि निकै महत्त्वपूर्ण घडीमा आएको मानिएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको छ । मस्कले ओपनएआई खरिदका लागि राखेको रकमको प्रस्ताव नेपालको बजेटभन्दा ६०० प्रतिशत बढी हुन आउँछ ।  

ओपनएआईका सीईओ साम अल्टम्यान कम्पनीमा ठूलो परिवर्तनको तयारीमा छन् । पछिल्लो समय उनले कम्पनीलाई नाफामुखी संरचनामा रूपान्तरण गर्न खोजिरहेका छन् । यसअन्तर्गत ३४० अर्ब डलरको मूल्याङ्कनमा थप ४० अर्ब डलर जुटाउने उनको योजना छ । हालै मात्र ओर्‍याकल र सफ्ट बैंकसँग मिलेर चार वर्षमा ५०० अर्ब डलरको एआई पूर्वाधार परियोजना सुरु गर्ने अल्टम्यानको लक्ष्य छ ।

सन् २०१५ मा अल्टम्यानसँगै ओपनएआई स्थापना गरेका मस्कले सन् २०१८ मा कम्पनी छाडेका थिए । अहिले यो प्रस्तावले कम्पनीको मूल उद्देश्य सुरक्षित र खुला रूपमा एआई विकास गर्ने कुराबाट विचलित भएको मस्कको आरोपलाई चुनौती दिने उनको सबैभन्दा साहसी कदम हो । हाल मस्कले ओपनएआई विरुद्ध मुद्दा पनि दायर गरेका छन् ।

मस्कका वकिल मार्क टोबेरोफले वाल स्ट्रिट जर्नललाई दिएको जानकारी अनुसार मस्कले भनेका छन्, “ओपनएआईलाई एक समयको ओपनसोर्स, सुरक्षा केन्द्रित र राम्रो काम गर्ने संस्थाको रूपमा फर्काउने बेला आएको छ । हामी त्यो सुनिश्चित गर्नेछौं ।”

यस प्रस्तावले ओपनएआईको नाफा उन्मुख परिवर्तनको योजनालाई थप जटिल बनाउने बताइएको छ । खासगरी मस्कको टोलीले कुनै पनि उच्च प्रस्तावलाई बराबरी गर्ने वा त्यसभन्दा बढी दिने वाचा गरेको छ भने नाफा नसोची पक्कै गर्दैनन् भन्ने विज्ञहरूको विश्लेषण छ । यसले अल्टम्यानका लागि कठिन परिस्थिति सिर्जना गरेको छ, किनकि उनी माइक्रोसफ्ट र अन्य सरोकारवालाहरूसँग योजनाबद्ध नाफामुखी संरचनामा इक्विटीको बारेमा छलफल गरिरहेका छन् ।​

मस्कले ओपनएआई खरिद गर्ने प्रस्ताव राखेको समाचार बाहिर आउनासाथ अल्टम्यानले एक्समा लेखेका छन्, “धन्यवाद । तर, यदि तपाईं चाहनुहुन्छ भने हामी तपाईंको ट्वीटर ९.७४ अर्ब डलरमा किन्छौं ।”

अर्थात् मस्कले ओपनएआई खरिद गर्ने प्रस्ताव जति रकममा राखेका थिए त्यसको १० प्रतिशत रकममा उल्टै उनको कम्पनी खरिद गर्ने प्रस्ताव अल्टम्यानले राखेका छन् । मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका थिए । कम्पनीको मूल्याङ्कन दिनदिनै बढ्नुपर्नेमा घट्दै गएको विभिन्न समाचार माध्यमले बताएका छन् । मस्क आफैंले पनि ट्वीटर वाक स्वतन्त्रताको रक्षाका लागि खरिद गरेको र त्यसका लागि खर्च गरेको रकम असामान्य भएको बताउँदै आएका छन् । 

ओपनएआईको बोर्डबाट किन बाहिरिएका थिए एलन मस्क ?

एआई प्रविधिका माध्यमबाट मानवताको हितमा समर्पित गर्ने योजनाका साथ स्थापना भएको कम्पनीबाट मस्कले सन् २०१८ मा नै आफ्नो पदबाट राजीनामा दिएका थिए । 

उनले टेस्लासँग 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'को कारण देखाउँदै राजीनामा दिएको खबर बाहिर आएको थियो । तर, भित्री वास्तविकता भने फरक रहेको सेमाफोरको एक रिपोर्टले देखाएको छ ।

सो रिपोर्टका अनुसार उनी ओपनएआईलाई आफ्नो एकलौटी बनाउन चाहन्थे, जुन काम गर्न उनले सकेनन् । यसपछि उनी आफैं कम्पनीबाट बाहिरिए । यस घटनालाई नजिकबाट नियालेका व्यक्तिले सेमाफोरलाई भने अनुसार मस्कले साम अल्टम्यान र अन्य संस्थापकलाई आफ्नो कम्पनी एआई प्रविधि विकासमा गुगलभन्दा पछाडि रहेको धारणा राखेका थिए । 

जसका लागि उनले कम्पनीको सम्पूर्ण जिम्मेवारी आफूले लिने र आफैंले नेतृत्व गर्ने प्रस्ताव राखे । तर, अल्टम्यान र अन्य सहसंस्थापकले मस्कको प्रस्ताव अस्वीकार गरे । 

आफूले चाहे अनुसार कम्पनी नचल्ने भएपछि उनले तत्कालै बोर्ड सदस्य लगायत अन्य पदबाट राजीनामा दिएका थिए । तर, उनले कम्पनीलाई अनुदान दिइरहेका थिए ।

मस्कले भने आफू यही कारणले कम्पनीबाट बाहिर निस्केको भनेर कतै खुलाएका छैनन् । उनी अहिले ओपनएआईको प्रशंसा कम र आलोचना बढी गर्दै आएका छन् । ओपनएआईले गर्न चाहेका केही पनि कुरामा आफू सहमत नभएको अभिव्यक्ति दिँदै आएका छन् । 

अहिलेको अवस्थामा ओपनएआई एआईको अनुसन्धानमा अग्रपङ्क्तिमा रहेको छ । जसको फलस्वरूप कम्पनीले ड्याल-ई, च्याटजीपीटी तथा जीपीटी फोर जस्ता महत्त्वपूर्ण तथा चर्चित परियोजनाहरूमा काम गरिरहेको छ । 

सन् २०१५ मा एक गैरनाफामुखी संस्थाका रूपमा स्थापना भएको यो कम्पनी पछिल्लो समय नाफामा केन्द्रित भएको मस्कको आरोप छ । यही कारणले पनि मस्कले ओपनएआईको बारम्बार आलोचना गरिरहेका छन् । कम्पनी गैरनाफामुखी र मानवताको हितभन्दा विपरीत मोडमा रहेको भन्दै मस्क ओपनएआईको आलोचना गरिरहन्छन् । 

आलोचना गर्दै मस्कले एक पटक भनेका थिए, "ओपनएआईलाई गुगलको काउन्टरवेटको रूपमा सेवा गर्न ओपनसोर्स, गैर-नाफामुखी कम्पनीको रूपमा सिर्जना गरिएको थियो । तर अब यो एक क्लोज्ड सोर्स (बन्द स्रोत) भएको छ र यसलाई अधिकतम नाफा कमाउने कम्पनी माइक्रोसफ्टले नियन्त्रण गरेको छ । यो मैले चाहेको कुरा होइन ।" 

सबैभन्दा प्रमुख कुरा ओपनएआई माइक्रोसफ्टद्वारा नियन्त्रित भएको मस्कलाई मन परेको छैन । त्यसबाहेक पनि ओपनएआईप्रति मस्कका तमाम असहमति छन् ।

ओपनएआईका लागि मस्कको मनसाय अस्पष्ट छ भन्ने कुरा अनुमान गर्न गाह्रो छैन । उनी एआईका सम्भावित खतराहरूको बारेमा चेतावनी दिइरहेका हुन्छन् ।

प्रविधिको अधिक नियमन र निरीक्षणका लागि आह्वान गरिरहने मस्क आफैं पनि एआईमा आधारित रोबोट, विद्युतीय गाडी लगायत अन्य परियोजनामा काम गरिरहेका छन् । 

गत वर्ष एक ट्वीटमा उनले भनेका थिए- “सुरक्षा सुनिश्चित गर्न एआई गभर्नेन्स राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हुनुपर्छ ।”

(*शीर्षक परिवर्तन गरिएको छ । स.)

पछिल्लो अध्यावधिक: माघ २९, २०८१ १२:५