काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशबाट आईटी क्षेत्र उत्साही भएको टिप्पणी गरेका छन् । आइतबार संसद्मा सांसदहरूको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले अध्यादेशले नेपाललाई आईटीको युगतर्फ अघि बढाउने दाबी गरे ।
सरकारले अध्यादेशमार्फत केही नेपाल ऐन संशोधन गरी आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा लगानी गर्न सहज बनाउने व्यवस्था प्रस्ताव गरेको छ । उक्त व्यवस्था अनुसार अब नेपाली आईटी कम्पनीहरूले विदेशमा शाखा खोल्न, कारोबार गर्न र आम्दानी स्वदेश भित्र्याउन सक्नेछन् ।
प्रस्तावित व्यवस्थाले नेपाली कम्पनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न मद्दत गर्ने र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउने सरकारको विश्वास छ । साथै, स्टार्टअप कम्पनीहरूले ४० प्रतिशतसम्म स्वेट शेयर जारी गर्न सक्ने प्रावधानसमेत समेटिएको छ ।
प्रतिपक्षी दलहरूले भने अध्यादेशप्रति असन्तुष्टि जनाउँदै संसद् छल्दै ल्याइएको कानुनी सुधारमा प्रश्न उठाएका छन् । उनीहरूले सरकारको कदमलाई ठोस रणनीति बिना हतारमा गरिएको निर्णयको रूपमा व्याख्या गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिपक्षको आलोचनाप्रति असन्तुष्टि जनाउँदै भने, “अध्यादेशलाई उद्यमी, व्यवसायी, युवाहरूले वेलकम गरेका छन् । अहिलेको जल्दोबल्दो आईटी सेक्टरका युवाले स्वागत र समर्थन गरेका छन् । याे अध्यादेशले नेपाललाई आईटीकाे युगतिर अगाडि बढाउने छ । प्रतिपक्षीले किन विरोध गरेकाे हो, बुझ्न सकेको छैन ।”
उनले अगाडि भने, “आईटीको उत्पादन र व्यापार गर्न सकिने भएकाले विदेशको काम यहीँ बसेर गर्न सकिन्छ र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अब कन्जरभेटिभ हुनुहुँदैन । अरूले आएर आईटीका विभिन्न सेवा दिएर पैसा लैजान सक्ने, तर हामीले बाहिर कम्पनी खोल्न र कारोबार गर्न नपाउने भन्ने स्थिति उचित हुँदैन, त्यसैले हामीले तत् सम्बन्धी व्यवस्था गरेका छौं ।”