काठमाडौं । एक अर्ब ६४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाउने २४ भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार बुढानिलकण्ठबाट उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले बेटिङ एप ‘स्काई एक्सचेन्ज’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरूमा सट्टेबाजी गर्ने गरेको प्रहरीले जनाएको छ ।
भारतीय एजेन्टहरूसँग ह्वाट्सएप र टेलिग्राममा सम्पर्क गरी अनलाइन जुवा खेलाउने र हारजित भएको रकम भारतका विभिन्न बैंक खातामा जम्मा गर्ने र निकाल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट २१ थान ल्यापटप, ३८ थान मोबाइल, तीन थान राउटर र सट्टेबाजीसम्बन्धी हिसाबकिताब भएको कापी र डायरी बरामद गरिएको छ ।
बरामद ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले एक अर्ब ६४ करोड ३९ लाख ५७ हजार रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) र विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ बमोजिम मुद्दा चल्ने प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।