काठमाडौं । भारतको ओडिशास्थित कालिंगा इन्सिच्युट अफ इन्ड्रस्टियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थीलाई विश्वविद्यालय फर्काउन आवश्यक पर्ने यातायात खर्च बेहोर्ने घोषणा गरेको छ । विश्वविद्यालयका रजिस्टार तथा प्राध्यापक ज्यन राजन मोहन्थीले बुधबार एक भिडिओ सन्देश सार्वजनिक गर्दै सबै नेपाली विद्यार्थीसँग सम्पर्क गरिएको र उनीहरूलाई फर्काउने प्रक्रिया भइरहेको दाबी गरेका छन् ।
उनले नेपाली विद्यार्थीका अभिभावकलाई ईमेलमार्फत आफ्ना विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिइएको पनि बताएका छन् । नेपाली दूतावासका परामर्शदाताले पनि विश्वविद्यालयले पछिल्लो समयमा गरेको काममा सन्तुष्टि देखाएको उनको दाबी छ ।
मोहन्थीले हालको परिस्थितिलाई बुझेर न्याय र पारदर्शिताका लागि विश्वविद्यालयले काम थालेको बताएका छन् । “दुई सेक्युरिटी गार्डलाई हटाइएको छ । दुई होस्टेल वार्डेन र एक सिनियर प्रशासकलाई निलम्बन गरिएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ,” उनले भने ।
सरकारलाई अनुसन्धानका लागि केआईआईटीले पूर्ण रूपमा सहयोग गरेको पनि उनले उल्लेख गरे । विद्यार्थीहरूको शैक्षिक क्रियाकलापलाई बाधा नपर्ने गरी काम गरिरहेको र अध्ययनका लागि कक्षामा फर्कन विद्यार्थीहरूलाई प्रोत्साहन गरिएको उनको भनाइ छ ।
आइतबार साँझ केआईआईटीको बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आफ्नो होस्टेलमा मृत भेटिएकी थिइन् । लम्सालको मृत्युपछि विद्यार्थी र विभिन्न संघसंस्थाहरूले विश्वविद्यालय प्रशासनको लापरबाही र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । तर विश्वविद्यालयले भने विद्यार्थीहरूको विरोधलाई दमन गर्दै नेपाली विद्यार्थीलाई सोमबार बिहान होस्टेलबाट निस्किएर जान उर्दी जारी गर्दै रेलवे स्टेसनमा छाडिदिएको थियो ।
यस घटनालाई लिएर सामाजिक सञ्जालमा विरोध भएको थियो भने नेपाल र भारतका सरकारी पक्षबाट चासो आएपछि सोमबार साँझ नै विश्वविद्यालयले नेपाली विद्यार्थीलाई फर्कन अपिल गरेको थियो । हालसम्म सयौँ विद्यार्थी विभिन्न नाका हुँदै नेपाल फर्किसकेका छन् ।