close

अनलाइन जुवामा २९ लाख डुबाएका २२ वर्षीय युवकको अनुभवः जुवाको नशा ड्रग्सभन्दा बढी हुने रहेछ

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन १०, २०८१ २२:४२

एआईबाट तयार पारिएको सांकेतिक तस्बिर एआईबाट तयार पारिएको सांकेतिक तस्बिर

काठमाडौं । घुम्रिएको कपाल, गहुँगोरो वर्ण र पेशागत पहिरनले सजिएको त्यो अनुहार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आइपुग्ने अन्य पीडितहरूको भन्दा भिन्न थियो । पहिलो नजरमा ती युवक पीडित हुन् वा प्रहरी अधिकारीसँग भेट्न आएका कुनै आगन्तुक, अनुमान लगाउन गाह्रो थियो । 

विगत तीन वर्षदेखि अनुसन्धान अधिकृतको रूपमा कार्यरत प्रहरीले ती युवकसँग भेट गराइदिए - रेशम पञ्जियार, उमेर २२ वर्ष (नाम परिवर्तन) । अनलाइन जुवाको दुर्व्यसनमा फसेर लाखौं रुपैयाँ गुमाएका उनी वास्तवमा एक पीडित थिए । आफन्त, साथीभाइ र परिवारसँग मीठा कुरा गरेर लिएको ऋण तिर्न नसक्दा उनी उपायको खोजीमा प्रहरी कार्यालयसम्म आइपुगेका थिए ।

यो आजभन्दा लगभग एक वर्षअघिको यो घटना हो । आज फेरि उनै युवकको फोन आयो । एक वर्षको अवधिमा उनले कस्तो अनुभव बटुले ? त्यस्तो कठिन परिस्थितिमा उनले कसरी सामना गरे ? सानै उमेरमा अनलाइन जुवाको लतमा फस्दा जीवनमा कस्ता असरहरू पर्छन्, र उनको मनमा कस्ता विचारहरू आउँछन् भन्ने कुरा जान्न पङ्तिकार उत्सुक थियो ।

फोनको घण्टी बज्दा उनले फेरि त्यही पीडादायी वाक्य दोहोर्‍याए, “दाइ, अनलाइन जुवाले म जस्ता हजारौं युवाहरूको जीवन बर्बाद पारेको छ । सपनाहरू पूरा गर्ने उमेरमा आफ्नै आफन्तबाट लुक्दै हिँड्नु परेको छ । कति फोन नम्बर र ठेगाना बदलेँ, तर आफन्तहरू पैसा माग्दै घरमै आइपुग्छन् । जति कमाए पनि तिर्न नसक्ने अवस्थामा पुगेको छु । र ती जुवाका प्लेटफर्म अझै खुलेआम चलिरहेका छन् ।”

उनी यसरी आफैँ सुनाउँछन् आफ्नो व्यथा !

म २२ वर्षको भएँ । म तराईको एउटा सामान्य परिवारमा जन्मिएँ, हुर्किएँ । मेरो बाल्यकाल अरू सामान्य बालबालिकाको जस्तै थियो । पढाइमा औसत, खेलकुदमा रुचि र भविष्यमा केही बन्ने सपना बोकेको म कसरी अनलाइन जुवाको दुश्चक्रमा फसेर आफ्नो जीवनलाई धरापमा पुर्‍याएँ, त्यो मलाई मात्र थाहा छ । 

आफ्नो पीडा व्यक्त गर्नु मनलाई हल्का बनाउनु पनि हो । मेरो उद्देश्य कसैलाई दोष दिनु होइन । बरु अनलाइन जुवाको लतले कसरी एक जवान मान्छेको जीवनलाई तहसनहस पार्छ भन्ने आफ्नो अनुभव बाँड्नु हो ।

हाम्रो परिवार मध्यम वर्गीय थियो । बुबाआमाले धेरै दुःख गरेर मलाई पढाउनुभयो । उहाँहरूको एउटै सपना थियो - म पढेर ठूलो मान्छे बनूँ र परिवारको छाती चौडा बनाउँ । म पनि उहाँहरूको सपना पूरा गर्न रातदिन मेहनत गर्थेँ । स्कुलमा राम्रो अङ्क ल्याउन सधैं प्रयास गर्थें । साथीभाइसँग मिलेर पढ्ने, खेल्ने र रमाउने गर्थें । मेरो जीवन सामान्य रूपमा चलिरहेको थियो ।

सन् २०२१ को मध्यतिर इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा हासिल गरेपछि मैले एउटा प्रतिष्ठित कम्पनी ‘सीजी ग्रुप’मा काम पाएँ । यो मेरो लागि एउटा ठूलो सफलता थियो । मैले आफ्नो पढाइ सकेर पहिलो पटक जागिर पाएको थिएँ । त्यसैले म धेरै खुसी थिएँ । सँगै मेरो सफलतामा मेरा बुबाआमा पनि उत्तिकै खुसी हुनुहुन्थ्यो ।  

कम्पनीमा काम गर्दा मेरो जीवन सामान्य रूपमा चलिरहेको थियो । तलब पनि ठीकै थियो । दाइ विदेशमा भएकाले घरखर्च उहाँले पठाउनुहुन्थ्यो । म आफ्नो खर्च कटाएर बाँकी पैसा बचत गर्थें । यसरी एक वर्षसम्म काम गर्दा राम्रै रकम जम्मा भएको थियो ।

मलाई बचत गरेको रकम कतै लगानी गर्नुपर्छ भन्ने लाग्थ्यो । त्यसैले लगानी गर्ने राम्रो उपायको खोजीमा थिएँ । त्यही बेला फेसबुकमा एउटा विज्ञापन देखें । त्यो विज्ञापन बेटिङ एप्लिकेसनको थियो । र, त्यो दिन नै वास्तवमा मेरो जीवनको सबैभन्दा खराब दिन साबित भयो ।

एउटा यस्तो घटना घट्यो, जसले मेरो जीवनलाई पूर्ण रूपमा परिवर्तन गरिदियो । मलाई अनलाइन जुवाको लत लाग्यो । यो लतले मलाई एउटा यस्तो दुश्चक्रमा फसायो, जहाँबाट निस्कन असम्भव थियो ।

विज्ञापनमा थोरै लगानीमा धेरै पैसा कमाउन सकिने प्रलोभन देखाइएको थियो । सुरुमा त मैले वास्ता गरिनँ । मलाई यस्ता कुराहरूमा विश्वास लाग्दैनथ्यो । तर बारम्बार त्यस्ता विज्ञापन देखेपछि मलाई एकपटक कोसिस गरौं कि भन्ने लाग्यो । युट्युबरले गरेका विज्ञापनले ‘हुन्छ होला र त सुझाव दिंदैछन्’ भन्ने लाग्थ्यो । यसैले पनि मेरो मनमा एउटा सानो कौतूहल जगायो, जसलाई म रोक्न सकिनँ ।

मैले थोरै पैसा लगाएर खेल्न थालें । पहिलो पटक मैले केही पैसा जितें । त्यो जितले मलाई हौसला दियो । मलाई लाग्यो यो त साँच्चै सजिलो रहेछ, थोरै लगानीमा धेरै पैसा कमाउन सकिने यो नै उपयुक्त माध्यम हो । त्यसरी नै म लोभमा फसें । त्यो जित एउटा विषालु मिठाई जस्तै थियो, जसले मेरो भविष्यलाई बर्बाद पार्नेवाला थियो ।

त्यसपछि त म दिनरात अनलाइन जुवा खेल्न थालें । काममा जान मन लाग्दैनथ्यो, सधैँ मोबाइलमा झुन्डिरहन्थें । मेरो जीवनशैली पुरै बदलियो । साथीभाइसँगको भेटघाट पातलियो र म एक्लै एउटा कोठामा बन्द हुन थालें । म एउटा यस्तो दुश्चक्रमा फसेको थिएँ, जहाँबाट बाहिर निस्कने कुनै उपाय थिएन । अनलाइन जुवाले मेरो दिमागलाई यसरी आफ्नो कब्जामा लियो कि म अरू केही सोच्नै सक्दैनथें ।

सुरुमा केही पैसा जिते पनि, बिस्तारै म हार्न थालें । तर, मैले हार मान्न तयार थिइनँ । मलाई लाग्थ्यो एकपटक हारे पनि फेरि जित्न सकिन्छ । यही सोचका साथ मैले धेरै पैसा लगाउन थालें । मैले आफ्नो सबै बचत अनलाइन जुवामा रित्याएँ । मेरो मनमा एउटै कुरा खेलिरहन्थ्यो, “म यो पटक जित्छु र सबै गुमाएको पैसा फिर्ता ल्याउँछु ।” तर म जति धेरै खेल्थेँ, उति नै धेरै हार्दै जान्थें । म झनै गहिरो दलदलमा फस्दै गएको थिएँ ।

अनलाइन जुवा खेल्दाखेल्दै मैले आफूसँग भएको सबै रकम गुमाएँ । सुरुमा त मैले आफ्नो तलबबाटै पैसा हाल्थें, तर जब तलबले पुगेन, तब मैले ऋण लिन थालें, सापटी लिन थालें ।

साथीभाइ, आफन्त र चिनेका मान्छेहरू सबैसँग मैले ऋण मागें । म सबैको अगाडि हात फैलाउन बाध्य भएँ । चिन्ने जति सबैले विश्वास गरे । मेरो परिवारलाई विश्वास गरेर केहीले मलाई पत्याएँ । तर, त्यसैले मेरो इज्जत र प्रतिष्ठा सबै धुलोमा मिलाइदियो । म एउटा भिखारी जस्तै भएको थिएँ । जो भेट्यो पैसा माग्थें । मानौं पैसा नै मेरा लागि सबथोक थियो । पैसा भए फेरि गुमेको पैसा फिर्ता ल्याउन सक्छु भन्ने आत्मविश्वास थियो । 

मैले घरमा पनि ढाँटेर पैसा मागें । व्यवसाय गर्ने भन्दै मैले आमाबुबाबाट केही लाख मागें । उता दाइसँग पनि विभिन्न बहानामा रकम मागें । यसरी परिवारबाट कूल ११ लाख रूपैयाँभन्दा बढी मागेको थियो । मलाई थाहा थियो, म गलत गर्दैछु, तर लतको अगाडि म कमजोर थिएँ, म निरिह थिएँ । मैले आफ्नो परिवारलाई धोका दिइरहेको थिएँ, तर म लतका अघि म जे पनि गर्न विवस थिएँ । म एउटा दानवको कब्जामा परेको थिएँ । मेरो विवेक हराइसकेको थियो ।

आफन्त, सँगै काम गर्ने साथीहरू, साथीहरूलाई पनि चिन्ने साथीहरूसँग एक वर्षको अवधिमा मैले २९ लाख रुपैयाँ ऋण लिएँ । यो रकम मेरो लागि आकाशबाट खसेको जस्तै थियो । कति रकम कोसँग कसरी लिइरहेको छु, यदि पहिले जस्तै रकम अनलाइन जुवामै हारें भने कसरी तिर्छु भन्ने केही पनि थाहा थिएन । मेरा अगाडि केबल जित्ने आश मात्र थियो । यो अनलाइन जुवाको लत ड्रग्सभन्दा पनि खतरनाख हुने रहेछ । ड्रग्सको लतबाट निस्कियो भने त मान्छे बाँच्छ तर अनलाइन जुवाको लतपछि त मान्छे रित्तिन्छ । कहिल्यै नदेखेको सङ्ख्या ऋण थाप्लोमा आइलाग्छ । बाँच्न मन लागे पनि बाँच्न गाह्रो हुने रहेछ ।

मलाई थाहा थिएन, अब यो ऋण कसरी तिर्ने । मैले आफ्नो भविष्यलाई पूर्ण रूपमा बर्बाद गरें । मेरो अगाडि एउटा ठूलो प्रश्नचिह्न खडा थियो । म पूर्ण रूपमा असहाय थिएँ ।

पैसाको कारणले मेरो परिवारसँगको सम्बन्ध पनि बिग्रियो । आमाबुबाले मलाई विश्वास गर्न छोडे । दिदी र दाइले पनि मलाई सहयोग गर्न सकेनन् । म एक्लो भएँ । मेरो परिवार मेरो लागि एउटा सपना जस्तै भयो, जुन कहिल्यै पूरा हुन सक्दैन । म एउटा अभागी छोरो बनेको थिएँ ।

म त्यसपछि घर जान पनि छोडें । मलाई डर लाग्थ्यो, घर गयो भने आमाबुबाले गाली गर्छन्, प्रश्न गर्छन् । म आफ्नो कोठामा एक्लै बस्न थालें, दिनरात अनलाइन जुवा खेल्थें र आफ्नो भविष्यलाई धिक्कार्थें । मेरो जीवन निराशा र पश्चातापले भरिएको थियो, अहिले पनि त्यस्तै छ । म हरेक पल मृत्युको कामना गरिरहेको हुन्छु । हरेक पल निकै जटिल लागिरहेका छन् । म एउटा जिउँदो लास जस्तै भएको छु ।

मलाई पैसा कमाउन मन नलाग्ने होइन, म कमाउँछु पनि, तर ऋण दिनेहरूको टर्चर सहन सक्दिनँ । त्यो टर्चरको कारणले कमाएको पैसा पनि चाहिँदैन मलाई । ऋण दिनेको दबाबले मलाई झनै मानसिक तनाव दिन्थ्यो । म भित्रभित्रै मर्न थालेको छु । मेरो जीवन नरक जस्तै भएको थियो, अहिले पनि त्यस्तै छ ।

मैले धेरै पटक ऋण दिनेहरूसँग अनुरोध गरेँ, तर कसैले पनि मेरो कुरा सुनेनन् । उनीहरूलाई त केवल आफ्नो पैसा चाहिएको थियो, मेरो पीडासँग उनीहरूलाई कुनै सरोकार छैन । उनीहरू मलाई एउटा वस्तु जस्तो व्यवहार गर्छन् ।

मैले धेरै अनुरोध गर्दा पनि कति ठाउँमा त मानेनन् । 'अब बुवाको अगाडि बेइज्जत गर्छु, तेरो यो गर्छु, त्यो गर्छु' भनेर धम्की दिन्छन् । केहीले त भनिसके । मैले आफ्नो इज्जत जोगाउन धेरै प्रयास गरेँ, तर सफल हुन सकिनँ । म पूर्ण रूपमा टुटेको छु । मैले आफ्नो सबै कुरा गुमाइसकेको छु ।

मान्छेले पैसा फेरि कमाउन सक्छ, तर गुमेको इज्जत फेरि कमाउन गाह्रो हुन्छ । इज्जत गुमाउनुको पीडा मलाई पैसा गुमाउनुभन्दा पनि ठूलो हुने रहेछ । मैले आफ्नो आँखा अगाडि आफ्नो भविष्य बर्बाद भएको देखेको छु । म एउटा जिउँदो शहीद जस्तै छु ।

अनलाइन जुवा खेलाउनेहरूले सुरुमा थोरै पैसा जिताउँछन् । त्यसपछि, जब मान्छेहरू लोभी हुन्छन्, उनीहरूले धेरै पैसा हार्छन् । उनीहरूले पैसा निकाल्न दिँदैनन्, विभिन्न बहाना बनाउँछन् । म यस्तो जालमा फसेको थिएँ, जहाँबाट निस्कन असम्भव थियो । म एउटा कैदी जस्तै भएको थिएँ । तपाईंहरूले आफ्नो आइडल मान्ने ति युट्युबरले कसरी यसमा पार्छन् र कसरी तपाईंका लागि राक्षस सावित हुन्छन् पछि मात्र थाहा हुने रहेछ । कोही आफ्नो हुँदैनन् । सबैले घरमै बसी बसी लाखौं कमाउन सकिने प्रलोभन दिन्छन् । तर, आफू मेहनतले काम गरिरहेका हुन्छन् । आफूलाई पछ्याउनेहरूमाथि त्यसले के असर पार्छ भन्ने कहिल्यै ख्याल नै गर्दैनन् ।

म चाहन्छु, मेरो जस्तो गल्ती अरू कसैले नगरोस् । म चाहन्छु, तपाईँहरू आफ्नो जीवनलाई सही मार्गमा डोर्‍याउनुहोस् ।

म सबै युवालाई भन्न चाहन्छु, कृपया अनलाइन जुवा र बेटिङ एपबाट टाढा रहनुहोस् । यो एउटा दुश्चक्र हो, जसले तपाईँको जीवनलाई बर्बाद गर्न सक्छ । म एउटा जिउँदो उदाहरण हुँ, जसले आफ्नो जीवनलाई यो लतमा फसेर बर्बाद गरेको छ । म चाहन्छु, अरू कसैले पनि यस्तो गल्ती नगरोस् । यो मेरो तपाईँहरू सबैलाई एउटा विनम्र अनुरोध पनि हो ।

मलाई थाहा छ मेरो यो वेथा तपाईँलाई काल्पनिक लाग्ला, कतिपयलाई दया लाग्ला । तर, म तपाईंको दया होइन, सहयोग चाहन्छु । म चाहन्छु म जसरी कोही पनि नफसोस् । सबै मान्छे यसबारेमा सचेत होऊन् । समयमै यसबारे थाहा भयो भने मान्छे बाँच्छ । जसरी जिन्दगी चलाइरहेको छ, त्यो भन्दा सफल हुन्छ । तर, यो चक्रमा परियो भने सधैं अल्झिन्छ । 

म अब आफ्नो जीवनलाई कसरी अगाडि बढाउँछु आफैंलाई थाहै छैन । परिवार अगाडि आफूलाई कसरी उभ्याउँ । कसरी निर्धक्क मैले पाठ सिकें भनूँ ? कसरी असल मान्छेको उदाहरण दिऊँ ? म चाहन्छु आफ्नो समाजका लागि केही योगदान गरूँ । मलाई थाहा छ यो सजिलो छैन । तर म हार मान्न तयार छैन । म आफ्नो जीवनलाई सार्थक बनाउन चाहन्छु ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०८१ २२:५५