close

गुगलले भारतमा खोल्यो भव्य कार्यालय, ५ हजार कर्मचारी अट्ने

टेकपाना टेकपाना

फागुन ११, २०८१ १४:१२

गुगलले भारतमा खोल्यो भव्य कार्यालय, ५ हजार कर्मचारी अट्ने

काठमाडौं । प्रविधि कम्पनी गुगलले भारतको ब्याङ्लोरस्थित महादेवपुरमा आफ्नो अहिलेसम्मकै ठूलो भारतीय कार्यालय ‘अनन्त’ को उद्‌घाटन गरेको छ । १६ लाख वर्ग फिट क्षेत्रफलमा फैलिएको यो कार्यालय बग्माने टेक पार्कले ११ महिना लगाएर निर्माण गरेको हो ।

यस कार्यालयमा पाँच हजारभन्दा बढी कर्मचारी अट्ने बताइएको छ । भारतभर करिब १० हजार कर्मचारी कार्यरत रहेको गुगलका लागि यो नयाँ कार्यालय थप महत्त्वपूर्ण हुने अनुमान गरिएको छ ।

संस्कृत शब्द ‘अनन्त’ को अर्थ असीमित भन्ने हुन्छ । सोही अवधारणालाई ध्यानमा राख्दै कार्यालयको प्रत्येक तला सहरको संरचनालाई झल्काउने गरी डिजाइन गरिएको छ । कार्यालयमा कर्मचारीका लागि फराकिलो कार्यक्षेत्र छ भने एम्फिथिएटर शैलीको ‘सभा’ नामक बैठक कक्ष समावेश गरिएको छ ।

ऊर्जा खपत कम गर्न कार्यालयमा स्मार्ट ग्लास प्रयोग गरिएको छ, जसले तापक्रम सन्तुलनमा राख्न मद्दत गर्ने बताइएको छ । साथै, पानी पुनःप्रयोग गर्ने र वर्षाको पानी सङ्कलन गर्ने प्रणाली जडान गरिएको छ ।

ब्याङ्लोरको हरियालीलाई ध्यानमा राख्दै परिसरमा हरियालीयुक्त बगैँचा, हिँड्ने तथा दौडने बाटो र ध्वनि न्यूनीकरण गर्ने ‘अरण्य’ वन बनाइएको छ । स्थानीय निर्माण सामग्री प्रयोग गरी वातावरणमैत्री बनाइएको यो भवन दृष्टिविहीनमैत्री समेत छ । यहाँ स्पर्शयोग्य भुइँ संरचना र ब्रेल लिपिमा जानकारीमूलक विवरण समावेश गरिएका छन् ।

भारतमा दुई दशकदेखि सेवा दिँदै आएको गुगलले बाढी पूर्वानुमान, क्षयरोग पहिचान तथा गुगल पे जस्ता प्रविधि विकास गरेको छ ।

गुगल इन्डियाकी उपाध्यक्ष प्रीति लोबानाले ‘अनन्त’ कार्यालयको उद्घाटन गुगलको भारतप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताइन् । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई व्यवसाय र आममानिससम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिइन् । साथै, भारतीय अनुसन्धानकर्ता र स्टार्टअपसँग सहकार्य गर्दै कृषि, स्वास्थ्य तथा वित्तीय क्षेत्रमा प्रविधि विकास गर्ने योजना रहेको पनि उनले उल्लेख गरिन् ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८१ १४:२९