काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले एक हजार रुपैयाँसम्मको डिजिटल कारोबारमा लाग्ने सेवा शुल्क १ रुपैयाँ बनाउन सुझाव दिएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा सांसद घिमिरेले डिजिटल कारोबारमा लाग्दै आएको ११ रुपैयाँ ३० पैसा शुल्कले साना व्यवसायीहरूलाई मारमा पारेको भन्दै सेवा शुल्क घटाउन सुझाव दिएका हुन् ।
उनले भने, “सबै डिजिटल भुक्तानी सहज, सुरक्षित र पारदर्शी बनेको छ । यसले बैंकिङ पहुँच नपुगेका क्षेत्रलाई डिजिटल प्रणालीमा समेट्न सहयोग पुर्याएको छ । तर हाल क्यूआर कोडबाट गरिने प्रत्येक कारोबारमा लाग्ने ११ रुपैयाँ ३० पैसा सेवा शुल्क ससाना कारोबारका लागि महँगो साबित भएको छ ।”
घिमिरेले उदाहरण दिँदै भने, “१० रुपैयाँको सामान खरिद गरी क्यूआर कोडबाट भुक्तानी गर्दा थप ११ रुपैयाँ ३० पैसा सेवा शुल्क लाग्ने भयो । तसर्थ एक हजार रुपैयाँसम्मको कारोबारमा एक रुपैयाँ मात्र शुल्क कायम गर्दै साना व्यापारी तथा उपभोक्तालाई सहज बनाउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
उनले यसो गर्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी व्यापारलाई सरल बनाउने र अर्थतन्त्रलाई थप बलियो बनाउन मद्दत पुग्ने बताए ।