काठमाडौं । अब आईफोन प्रयोगकर्ताले नि:शुल्क एडोबी फोटोशप एप प्रयोग गर्न सक्ने भएका छन् । एडोबीले आईओएसका लागि नयाँ फोटोशप एप सार्वजनिक गरेको छ, जसमा डेस्कटप भर्सनमा पाइने विभिन्न डिजाइन, एडिटिङ र जेनेरेटिभ एआई टुलहरू राखिएका छन् ।
यो एप विश्वभरका आईफोन प्रयोगकर्ताका लागि उपलब्ध छ । आईफोन प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गरेर एप डाउनलोड गर्न सक्छन् । एन्ड्रोइड प्रयोगकर्ताका लागि भने यो एप यसै वर्षभित्र उपलब्ध गराइने एडोबीले जानकारी दिएको छ ।
एडोबी फोटोशप एक्सप्रेस भने सन् २०१० देखि मोबाइल फोनमा उपलब्ध थियो, तर नयाँ एपमा थप शक्तिशाली फिचरहरूसहित फोटोशपको क्षमता बढाइएको कम्पनीले जनाएको छ । यसमा रिसाइजिङ, मास्किङ, कन्ट्रास र वस्तु हटाउने फिचरहरू समान रहेका छन् । साथै यसमा स्पट हिलिङ ब्रस, ट्याप सेलेक्ट, लेयर्स, सेलेक्सन, मास्क जस्ता एडिटिङ टुल पनि छन् ।
यसमा क्लाउड एपहरू जस्तै एडोबी एक्सप्रेस, लाइटरुम र फ्रेस्कोसँग सिधै जोडिन सक्ने सुविधा पनि उपलब्ध छ । यदि अब्जेक्ट सेलेक्ट, म्याजिक वान्ड, क्लोन स्ट्याम्प, कन्टेन्ट अवेर फिल जस्ता फिचरहरू प्रयोग गर्न चाहनुहुन्छ भने मासिक ७.९९ डलर (१,११५ रुपैयाँ) वा वार्षिक ६९.९९ डलर तिरेर प्रिमियम भर्सन लिनुपर्छ ।
प्रिमियम फोटोशप एपमा उज्यालो/अँध्यारो बनाउने, एड्भान्स ब्लेन्ड मोड, कलर इफेक्ट जस्ता थप सुविधा उपलब्ध छन् । यसरी, फोटोशपको प्रिमियम भर्सनले मोबाइल र वेब प्लेटफर्ममा अझ उत्कृष्ट एडिटिङ अनुभव दिने कम्पनीको दाबी छ ।
आईफोन प्रयोगकर्ताले यहाँबाट क्यूआर कोड स्क्यान गरेर यस एप डाउनलोड गर्न सक्छन् ।