काठमाडौं । नेपाली बजारमा रियलमीका दुई नयाँ स्मार्टफोन उपलब्ध हुने भएका छन् । कम्पनीले चाँडै नै ‘रियलमी नोट ६०’ र ‘रियलमी नोट ६० एक्स’ मोडेलका फोन ल्याउने जानकारी दिएको हो ।
रियलमीका अनुसार यी फोन बलियो डिजाइन, टिकाउपन र राम्रो काम गर्ने क्षमताका लागि बनाइएका छन् । आर्मरशेल प्रोटेक्सन प्रविधि प्रयोग गरिएकाले फोन छिट्टै बिग्रने डर कम हुने कम्पनीको भनाइ छ । “यी दुवै फोनहरू कडा गुणस्तरीय परीक्षणहरू पार गरेर बनेका हुन् । यसले गर्दा यी फोनहरू लामो समयसम्म टिक्छन्,” कम्पनीको विज्ञप्तिमा भनिएको छ ।
धुलो र पानीबाट सुरक्षित राख्न रियलमी नोट ६० ले आईपी ६४ र नोट ६० एक्समा आईपी ५४ प्रमाणपत्र पाएको छ ।
दुवै फोनमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । नोट ६० मा ३२ घण्टासम्मको भ्वाइस कल टाइम र रियलमी नोट ६० एक्समा ४८ दिनसम्मको स्ट्यान्डबाइ मोडको क्षमता रहेको छ । यसले प्रयोगकर्ताहरूलाई लामो यात्रामा वा बिजुली नभएको ठाउँमा पनि फोन प्रयोग गर्न सहज बनाउने कम्पनीको भनाइ छ ।
१००० पटकको चार्ज साइकल पूरा गरेपछि पनि ब्याट्रीको हेल्थ ८० प्रतिशत कायम रहने कम्पनीको दाबी छ । यी दुवै स्मार्टफोन युनिसक टी ६१२ चिपसेटद्वारा सञ्चालित छन्, जसले २,५२,५९७ एन्टुटु बेन्चमार्क स्कोर हासिल गरेका छन् ।
कम्पनीले यी फोनको मूल्यबारे जानकारी दिइसकेको छैन ।