close

ओपनएआईलाई ठूलो झट्का, अब अलिबाबाको एआई टुलबाट निःशुल्क भिडिओ बनाउन सकिने

टेकपाना टेकपाना

फागुन १७, २०८१ ११:३९

ओपनएआईलाई ठूलो झट्का, अब अलिबाबाको एआई टुलबाट निःशुल्क भिडिओ बनाउन सकिने

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले शब्दकै भरमा भिडिओ तयार पार्ने एआई मोडेल विश्वव्यापी रूपमा निःशुल्क प्रयोग गर्न पाइने बनाएको छ । कम्पनीले बुधबारदेखि शब्द वा फोटोकै भरमा आकर्षक फोटो तथा भिडिओ तयार पारिदिने एआई टुल निःशुल्क उपलब्ध गराउन थालेको हो । 

यसअन्तर्गत अलिबाबाले आफ्नो वान २.१ (Wan 2.1) सिरिजका चार मोडेललाई ओपन सोर्स गरेको हो । यो मोडेलले शब्द र फोटोका भरमा स्तरीय फोटो र भिडिओ तयार पार्न सक्ने बताइएको छ । यी मोडेल अलिबाबा क्लाउडको मोडेल स्कोप र हगिङ फेस मार्फत उपलब्ध छ । यसलाई मोडेलस्कोपबाट डाउनलोड गर्न यहाँ र हगिङ फेसबाट डाउनलोड गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

ओपनएआई जस्ता प्रतिस्पर्धी कम्पनीसँग प्रतिस्पर्धा बढाउने उद्देश्यले कम्पनीले यो रणनीति अपनाएको बताइएको छ । उता ओपनएआईको भिडिओ क्रियसन एआई टुल ‘सोरा’ प्रयोग गर्न मासिक २०० डलर तिर्नुपर्ने हुन्छ । २० डलर तिरेर च्याटजीपीटी प्लस सब्स्क्रिप्सन लिएको खण्डमा भने महिनामा ५० ओटा भिडिओ तयार पार्न सकिन्छ । 

यसअघि चिनियाँ कम्पनी डिपसिकले आफ्नो एआई मोडेललाई कम लागतमा र एनभिदियाका सामान्य चिप्समा तालिम दिएको दाबी गरेपछि चर्चामा आएको थियो । डिपसिकको मोडेल पनि अलिबाबाको जस्तै ओपन सोर्स हो । यसलाई अरूले डाउनलोड र परिवर्तन गर्न सक्छन् ।

ओपन सोर्स मोडेल ओपनएआईले बनाएका मोडेल भन्दा फरक हुन्छन् र यसले कम्पनीका लागि आम्दानी गर्दैनन् । तर यसले नवप्रवर्तनलाई बढावा दिने काम गर्छ । अहिले एआई मोडेलहरू कमोडिटाइज्ड हुने हो कि होइन भन्ने बहस चलिरहेको छ । विशेषगरी चिनियाँ कम्पनीले ओपन सोर्स मोडेललाई अगाडि बढाइरहेका छन् । 

अलिबाबाले पहिलो ओपन सोर्स मोडेल अगस्ट २०२३ मा सार्वजनिक गरेको थियो भने मेटाले अमेरिकामा आफ्नो लामा मोडेलमार्फत ओपन सोर्सको नेतृत्व गरिरहेको छ ।

अलिबाबाको शेयर मूल्य यस वर्ष ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सुधारिएको आर्थिक स्थिति, चीनमा यसलाई प्रमुख एआई कम्पनीका रूपमा बढ्दो पहिचान र चिनियाँ राष्ट्रपति सी जिनपिङले घरेलु निजी क्षेत्रलाई थप समर्थन गर्ने सङ्केत दिएपछि अलिबाबाले यो सफलता हासिल गरेको हो । 

पछिल्लो अध्यावधिक: फागुन १७, २०८१ १२:२