काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले इन्स्टाग्रामबाट आफ्नी छोरी राहाको अनुहार देखिने सबै फोटो हटाएकी छिन् । उनले शनिबार इन्स्टाग्राममा अपलोड गरेका राहाको अनुहार देखिने सबै फोटो हटाएकी हुन् ।
आलियाका समर्थकले यो कदमलाई समर्थन गरेका छन् । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइन्समका अनुसार आलियाले यसअघि जामनगर वा परिवारको पेरिस यात्राका क्रममा खिचिएका छोरी राहाका तस्बिर राखेकी थिइन् । ती सबै तस्बिर अहिले हटेका छन् । नयाँ वर्षको तस्बिरमा राहा देखिए पनि उनको अनुहार प्रष्ट छैन ।
सामाजिक सञ्जाल रेडिटमा पनि प्रयोगकर्ताहरूले आलियाको यो निर्णयको प्रशंसा गरेका छन् । एक प्रयोगकर्ता लेख्छन्, “म आलियाको प्रशंसक होइन, तर म उनको यो निर्णयलाई पूर्ण समर्थन गर्छु । इन्टरनेटमा धेरै गलत मानिसहरू छन् । एक अभिभावकको रूपमा उनले सुरक्षाको लागि जे गरिन्, त्यो सही छ ।”
अर्का प्रयोगकर्ता लेख्छन्, “यो राम्रो निर्णय हो । अब पापाराजीहरूले पनि यो कुरा बुझेर उनीहरूलाई सधैं दुःख दिन बन्द गर्नेछन् र बालबालिकाको गोपनीयता र अभिभावकको निर्णयको सम्मान गर्नेछन् ।”
आलियाले एकाएक छोरीको अनुहार चिनिने फोटो किन हटाइन् भन्ने स्पष्ट भइसकेको छैन । धेरैले उनले छोरीको गोपनीयताका लागि हटाएको हुनसक्ने अड्कल काटेका छन् ।
राहाको जन्म २०२२ मा भएको थियो । आलिया र रणवीर कपुरले क्रिसमसको दिन २०२३ मा राहालाई संसारसामु चिनाएका थिए । त्यसयता राहा धेरै पटक सामाजिक सञ्जालमा देखिएकी छिन् ।