close

समय बचाउन गुगल फोटोज्‌मा यसरी खोज्नुहोस् पुरानो फोटो

टेकपाना टेकपाना

फागुन १८, २०८१ १७:१६

समय बचाउन गुगल फोटोज्‌मा यसरी खोज्नुहोस् पुरानो फोटो

काठमाडौं । गुगल फोटोज्‌मा फोटो र भिडिओहरू सहजै ब्याकअप राख्न सकिन्छ । यहाँ फोटो ब्याकअप गरेपछि मोबाइलको स्टोरेज पनि ती फोटोका कारण नसकिने र फोटोहरू हराउने जोखिमबाट पनि छुटकारा पाउन सकिन्छ । 

तर गुगल फोटोज्‌ले फोटो सुरक्षित गर्ने मात्र नभइ यसले हाम्रा यादहरूलाई थप व्यवस्थित रूपमा सङ्गालेर राखी दिन सक्छ ।  गुगल फोटोज्‌मा तपाईँले दशकौँदेखि फोटो, भिडिओहरू राख्ने गर्नु भएको हुनसक्छ । लामो समयदेखि राखेका ती फोटोहरू खोज्दा नभेटिने वा झन्झटिलो हुन सक्छ । 

हजारौँ फोटोहरूको बीचमा आफ्नो कुनै पुरानो फोटो खोज्न दिक्क लाग्छ भने यस्ता केही उपायहरू छन्, जसले तपाईँ केही सेकेन्डभित्रै आफूले चाहेको पुरानो फोटो भेटाउन सक्नुहुन्छ । 

१. व्यक्ति वा जनावरलाई खोज्नुहोस् 

गुगल फोटोज्‌ले तपाईँका फोटोमा रहेका व्यक्ति वा जनावरहरू चिन्न सक्छ । कुनै एउटा बालक उमेरसँगै बढिरहेको छ भने शिशु हुँदादेखि हुर्किएर ठुलो हुँदासम्म पनि गुगल फोटोज्‌ले चिन्छ । 

यदि तपाईँ वेब एप चलाउनुहुन्छ भने त्यहाँ माथि रहेको सर्च बक्समा गएर “People and Pets” सर्च गर्न सक्नुहुन्छ । मोबाइल एपमा तल्लपट्टि दायाँतर्फ रहेको सर्च आइकनमा गएर “People and Pets” सर्च गर्नुहोस् । 

त्यहाँ तपाईँले आफूमात्र भएको सिङ्गल फोटो वा तपाईँ रहनु भएको ग्रुप फोटोहरू एउटै फोल्डरभित्र हेर्न सक्नुहुन्छ । यस्तै गुगल फोटोज्‌ले कुनै व्यक्ति वा जनावर भएको फोटोहरूलाई पनि छुट्याएर फोल्डरमा राखिदिएको हुन्छ । 

गुगल फोटोज्‌लाई व्यक्ति थप चिन्न मद्‍दत गर्न तस्बिरमा देखाइएका व्यक्ति उही हुन् वा फरक हुन् भनेर सुझाव दिन सक्नुहुन्छ । यस्तै तपाईँले जुन व्यक्तिको फोल्डर हो, त्यसमा उसको नाम पनि राख्न सक्नुहुन्छ । 

यदि तपाईँले आफ्नो तस्बिर भएको फोल्डरमा “me” लेख्नुहुन्छ भने आफू भएका फोटोहरू हेर्न गुगल फोटोज्‌को सर्च आइकनमा “me” खर्च गर्ने बित्तिकै आफ्नो वा आफू भएको फोटो पाउन सक्नुहुन्छ ।

२. लोकेसनको आधारमा फोटो खोज्नुहोस्

गुगल फोटोज्‌को सर्च आइकनमा गएर तपाईँले कुन ठाउँमा खिचेको फोटो हो, त्यसको नाम राखेर पनि फोटो खोज्न सक्नुहुन्छ । गुगल म्यापमा उपलब्ध हुने स्थानहरू जस्तै: देश, सहर वा ठाउँको नामबाट फोटो खोज्न सकिन्छ । 

यदि तपाईँलाई भक्तपुरमा खिचेको कुनै फोटो चाहिएको छ भने सर्च आइकनमा गएर “Bhaktapur” सर्च गर्नुहोस् । नतिजामा तपाईँले भक्तपुरमा खिचेका फोटोहरू देखिने छन् । 

३. समय राखेर खोज्नुहोस्

सामान्यत: गुगल फोटो लाइब्रेरीमा स्क्रोल गर्दै जाँदा पुराना समयको फोटो हेर्न सक्नुहुन्छ । अझ सर्च इन्जिनमार्फत मिति राखेर सहजै फोटो फेला पार्न सकिन्छ । यसका लागि तपाईँले महिना र वर्ष राखेर खोजी गर्न सक्नुहुन्छ । वा कुनै खास दिन राखेर पनि खोज्न सकिन्छ । उदाहरणका लागि “November 2022”, “Winter 2023” राखेर फोटो सर्च गर्न सक्नुहुन्छ । यसरी तपाईँ नतिजामा निश्चित समयावधिमा खिचिएका फोटोहरू पाउनु हुनेछ । 

४. कुनै सामग्री खोज्नुहोस् 

एआई रिकग्निसन भएको गुगल फोटोज्‌मा वस्तुको नाममार्फत पनि फोटो खोज्न सक्नुहुन्छ । यसमार्फत पहाड, किताब, कप, रातो रङ, कालो रङ संलग्न भएका लगायतका तस्बिरहरू खोज्न सकिन्छ । यसका लागि तपाईँले सर्च इन्जिनमा गएर खोज्नु पर्ने हुन्छ । यदि तपाईँले “Bus” सर्च गर्नुभयो भने गुगल फोटोज्‌मा रहेका बसभित्र खिचेका वा ब्याकग्राउन्डमा बस भएका फोटोहरू सहजै पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन १८, २०८१ १७:१७