काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा नौ महिनादेखि रोकिएका नासा अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विलमोरलाई पृथ्वीमा फर्काउने मिसन भोलि बिहान पुन: प्रक्षेपण हुने भएको छ ।
अमेरिकाको फ्लोरिडास्थित केप कानेभेरल स्पेस फोर्स स्टेसनबाट क्रु-१० नाम दिइएको उक्त मिसनमा फाल्कन ९ रकेट प्रक्षेपण गर्न लागिएको हो । उक्त मिसन स्थानीय समयअनुसार शुक्रबार बेलुकी ७:०३ बजे (नेपाली समयअनुसार शनिबार बिहान ४:४८ बजे) प्रक्षेपण गर्ने तयारी गरिएको छ ।
नासा र स्पेसएक्सको संयुक्त मिसन अन्तर्गत रकेटले चार नयाँ अन्तरिक्षयात्रीलाई आईएसएसमा पठाउने योजना थियो । यी अन्तरिक्षयात्रीमा नासा कमान्डर एनी म्याकक्लेन, पाइलट निकोल एयर्स, जापानी एरोस्पेस एजेन्सी (जाक्सा)का ताकुया ओनिशी र रोसकोसमोसका किरिल पेस्कोभ छन् ।
यसअघि बुधबार उक्त रकेट प्रक्षेपणको तयारी गरिएको थियो । तर अन्तिम समयमा रकेटको ग्राउन्ड सिस्टममा समस्या आएपछि मिसन स्थगित भयो ।
सुनिता र बुच २०२४ को जुन महिनामा बोइङको स्टारलाइनर क्याप्सुलमा सवार भएर अन्तरिक्ष गएका थिए । तर, क्याप्सुलमा हिलियम लिकजस्ता प्राविधिक समस्या देखिएपछि उनीहरू निर्धारित समयमा फर्कन सकेनन् ।
हाल सुनिता आईएसएसको कमान्डरको भूमिकामा कार्यरत छिन् ।
नासाले क्रु-९ मिसनमार्फत सुनिता विलियम्स, बुच विलमोर, नासा अन्तरिक्षयात्री निक हेग र रोसकोसमोसका अलेक्जेन्डर गोर्बुनोभलाई पृथ्वीमा ल्याउने तयारी गरेको छ ।