close

नेपालको बजेटभन्दा दोब्बर बढी मूल्यमा साइबर सेक्युरिटी स्टार्टअप किन्दै गुगल !

टेकपाना टेकपाना

चैत ५, २०८१ १६:५९

नेपालको बजेटभन्दा दोब्बर बढी मूल्यमा साइबर सेक्युरिटी स्टार्टअप किन्दै गुगल !

काठमाडौं । गुगलको मातृ कम्पनी अल्फाबेटले साइबर सुरक्षासँग सम्बन्धित स्टार्टअप विजलाई महँगो मूल्यमा किन्ने विषयमा वार्ता अघि बढाएको छ । ३० अर्ब डलर (४१ खर्ब ७५ अर्ब रुपैयाँ बढी) मा खरिद गर्ने सम्भावित सम्झौताबारे अल्फाफेटले छलफल अगाडि बढाएको हो ।

यसअघि अल्फाबेटले २३ अर्ब डलरमा विज खरिद गर्ने विषयमा वार्ता अघि बढाएको थियो । तर, विजका केही निर्देशक र लगानीकर्ताहरूको असहमति भएपछि सम्झौता टुङ्गोमा पुग्न सकेको थिएन । अहिले भने ३० अर्ब डलरभन्दा बढीको नयाँ प्रस्ताव अघि सारिएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको छ । विज खरिदका लागि राखिएको प्रस्ताव नेपालको बजेटभन्दा १२४ प्रतिशत बढी हुन आउँछ ।   

अल्फाफेट र विजबिच वार्ता अझै जारी रहेको र छिट्टै सहमति हुने सम्भावना रहेको बताइएको छ । विजलाई अल्फाबेटले खरिद गर्‍यो भने यस वर्षकै सबैभन्दा ठूलो सम्झौतामध्ये एक हुनेछ । तर, हालसम्म अल्फाबेट र विज दुवैले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

अमेरिकामा आधारित विज स्टार्टअपले क्लाउड सुरक्षासम्बन्धी सेवा प्रदान गर्दै आएको छ । इजरायली साइबर इन्टेलिजेन्स युनिटका पूर्व सदस्यहरूले सन् २०२० मा विज स्थापना गरेका थिए ।

गत वर्ष कम्पनीको वार्षिक आम्दानी ५० करोड डलर पुगेको थियो । सह-संस्थापक रोय रेज्निकका अनुसार सन् २०२५ को अन्त्यसम्म आम्दानी दोब्बर बनाउने लक्ष्य रहेको छ । कम्पनीले अमेरिकाका शीर्ष १०० कम्पनीहरूमध्ये करिब आधालाई क्लाउड सुरक्षा सेवा प्रदान गरिरहेको दाबी गरेको छ ।

विजले २०२२ मा अन्तिम पटक १२ अर्ब डलरको मूल्याङ्कन प्राप्त गर्दै एक अर्ब डलर लगानी उठाएको थियो । यसमा एन्ड्रेसन होरोविज, लाइटस्पिड भेन्चर पार्टनर र थ्राइभ क्यापिटलजस्ता ठुला लगानीकर्ताले लगानी गरेका थिए । गत वर्ष अल्फाबेटसँगको वार्ता टुङ्गोमा नपुग्दा विजले आईपीओ निष्कासन गर्ने योजना बनाएको थियो ।

यदि यो सम्झौता सफल भयो भने अल्फाबेटको अहिलेसम्मकै सबैभन्दा ठूलो अधिग्रहण हुनेछ । यसअघि कम्पनीले २०१२ मा मोटोरोला मोबिलिटीलाई १२.५ अर्ब डलर (करिब १७ खर्ब ३५ अर्ब रुपैयाँ) मा खरिद गरेको थियो, जसलाई पछि बेचिएको थियो । त्यस्तै, सन् २०२२ मा अल्फाबेटले साइबर सुरक्षा कम्पनी म्यानडियान्टलाई ५.४ अर्ब डलरमा खरिद गरेको थियो ।

विश्व क्लाउड बजारमा १२ प्रतिशत हिस्साहित गुगल क्लाउड तेस्रो स्थानमा छ । माइक्रोसफ्टको अज्युर २१ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा अमेजन वेब सर्भिस (एडब्लूएस) यथावत् छ, जसको हिस्सा  ३३ प्रतिशत बढी छ ।

-फाइनान्सियल टाइम्सको सहयोगमा

पछिल्लो अध्यावधिक: चैत ५, २०८१ १७:१९