close

टेकपाना फ्याक्टचेकः बालेनलाई गाली गर्दै राजावादीहरूले शेयर गरेको फोटो २ वर्ष पुरानो

हिक्मत आचार्य हिक्मत आचार्य

चैत १७, २०८१ २०:४१

टेकपाना फ्याक्टचेकः बालेनलाई गाली गर्दै राजावादीहरूले शेयर गरेको फोटो २ वर्ष पुरानो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिबाना तिर्न भन्दै पत्र पठाएको विषय यतिखेर सामाजिक सञ्जालमा भाइरल छ । सोही क्रममा राजतन्त्रको पुनर्बहाली पक्षधर कतिपयले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) राजतन्त्रको विपक्षमा रहेको भन्दै उनको पुरानो फोटो राखेर आलोचना गरिरहेका छन् । 

त्यही फोटोको आडमा अहिले राजावादीले बालेन भित्रभित्रै सत्ताधारी नेताहरूसँग मिलेर राजाको विपक्षमा लागेको आरोप लगाइरहेका छन् । तर, टेकपाना फ्याक्टचेकका क्रममा बालेनको उक्त फोटो दुई वर्ष पुरानो भएको र अहिले फरक सन्दर्भमा भ्रामक जानकारी फैलाउन प्रयोग भइरहेको पत्ता लागेको छ ।

दाबी

३० मार्च २०२५ः बिहानदेखि सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट भाइरल भइरहेको छ । बिहान २ः३२ मिनेटमा एसएसीसीजेड नामक प्रयोगकर्ताले बालेन विभिन्न नेतासँग देखिने फोटो र क्याप्सन राखे । फोटोमा वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेल, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, पूर्व सांसद् तथा एमाले नेता महेश बस्नेत, काङ्ग्रेस कार्यकर्ता अब्दुल हुसेन अन्सारी र हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ देखिएका छन् । एसएसीसीजेड नामक आईडीबाट गरिएको सो फोटो पोस्टको क्याप्सनमा लेखिएको छ, “के को मिलन हो ? को को लाई चिन्नुभो ? अब के हुन्छ ?” हेर्नुहोस् ओरिजिनल लिङ्क अर्काइभ लिङ्क । 

त्यस्तै ९४ हजार बढी फलोअर भएका विकास महर्जनले बिहान ६ः४६ मिनेटमा लामो पोस्ट र बालेनसहित अन्य नेताको त्यही फोटो राखे । सो पोस्टको क्याप्सनमा लेखे, “गँजेडी मेयर भाइ, यो लुटतन्त्र व्यवस्थाको विरुद्ध आफैँ आएका जनताहरूमाथि देश जोगाउन मेरो साथ छ भन्नुको साटो देश जोगाउन गरेको आन्दोलनलाई जरिबाना तोकेर तिम्रो धार पनि प्रस्ट भयो ।”

उनले अगाडि लेखेका छन्, “अब तिमी पनि त्यही रविको घण्टी पार्टी झैँ पुरानोले होइन, नयाँले लुट तर नेपाललाई लुट्न चाहिँ लुट भन्ने व्यवस्थाको मतियार रहेछौ ! राजालाई स्वयँ भगवान विष्णु बाहेकले जरिबाना तिराउन सक्दैन, बुझी राख्नु । उनै राजाले बनाएको महानगर अनि उनकै सृजना नेपाल राष्ट्रमा ! तिम्रा समर्थन र नामको नारा लगाएर धेरै हुल जत्था भए अब १०/२० लाख तिमी पनि जरिबाना तिर । अनि तिम्रा प्रधानमन्त्रीको पार्टीले तिर्‍यो ? राष्ट्रको निमित्त गरिएको आन्दोलनको हामी सबै नेपाली जनताको नाउँमा जरिबाना काट्नु अब !” हेर्नुहोस् ओर्जिनल पोस्ट आर्काइभ पोस्ट । 

यही ट्रेन्ड पछ्याउँदै सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले पनि सोही फोटो राखेर बालेन नेताहरूसँग मिलेर राजालाई कारबाही गर्ने षड्यन्त्र रचिरहेको दाबी गर्दै पोस्ट गरिरहेका छन् । फेसबुकमा राजेश तामाङ नामक प्रयोगकर्ताले बिहान ७ः४७ बजे सोही फोटो राख्दै लेखेका छन्, “राजालाई दोषी बनाई कारबाही गर्ने षड्यन्त्र !! मेयर बालेन गाँजामा गोटी पनि मिक्स थियो कि के हो !!”

उनले अगाडि लेखेका छन्, “महानगरको खाता नम्बर दिनुस् हामी नेपाली जनताले जिम्मा लिन्छौँ, हामी आफै तिर्छौँ ।” उनको आशय पनि बालेनले नेताहरूसँग मिलेर पूर्वराजालाई कारबाही गर्न खोजेको भन्ने छ । हेर्नुहोस् ओरिजिनल लिङ्क अर्काइभ लिङ्क

त्यस्तै रुटिन अफ एक्स लभर नामक पेजले पनि ‘रिल भर्सेस रियालिटी’ भन्दै त्यही आशयसहित फोटो पोस्ट राखेको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क आर्काइभ लिङ्क

तथ्य जाँच

शनिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको र फोहोरमैला गरेको भन्दै त्यसको क्षतिपूर्ति बापत ७ लाख ९३ हजार रुपैयाँ बुझाउन पत्र पठाए । त्यसपछि पूर्वराजाका समर्थकले बालेनले नेताहरूसँग मिलेर राजालाई कारबाही गरेको आरोप लगाइरहेका छन् । उनीहरूले बालेन विभिन्न नेताहरूसँग देखिएको र उनले पूर्वराजालाई कारबाही गर्ने रणनीति बनाएको दाबी गरेका छन् । बालेन नेताहरूसँग देखिएको फोटो हालसालैको भएको जस्तो गरी पूर्व राजा समर्थकहरूले बाहिर एउटा र भित्र अर्को रूप देखाइरहेको बताइरहेका छन् । 

हामीले यो फोटो कुन सन्दर्भमा कसले लिएको हो भन्ने पत्ता लगाउने प्रयत्न गर्‍यौँ । त्यसका लागि सबैभन्दा पहिला बालेनको स्वरूप नियाल्यौँ । त्यसमा उनको कपाल काटिएको देखिन्छ । पछिल्लो समय बालेन लामो कपाल र दाह्रीमा देखिने गरेका छन् । यसबाट फोटो पुरानो हो भन्ने अनुमान लगायौँ । त्यसपछि सो तस्विरलाई रिभर्स इमेज सर्च गरी गुगल, यान्डेक्स र बिङ जस्ता सर्च इन्जिनमा खोज्यौँ । तर, उक्त फोटोको आधिकारिक स्रोत फेला पर्न सकेन । 

त्यसपछि हामीले सोही फोटोमा देखिएका अर्जुन घिमिरे ‘पाँडे’लाई फोटोको वास्तविकता सोध्यौँ । “यो फोटो दुई वर्ष अगाडि रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको बिहेको पार्टीको क्रममा गट्ठाघर, भक्तपुर स्थित जर्मन हाउसमा खिचिएको हो,” घिमिरेले फोटोको बेलीविस्तार लगाउँदै भने, “त्यस कार्यक्रममा सहभागी विभिन्न राजनीतिक व्यक्ति र अन्य व्यक्तिले सँगै फोटो खिचाएका थियौँ ।”

रुटिन अफ नेपाल बन्दका सञ्चालक पौडेलले पनि उक्त फोटो आफ्नो बिहेको क्रममा खिचिएको पुष्टि गरे । फोटोमा देखिएका नेपाली काङ्ग्रेसका कार्यकर्ता अब्दुल हुसेन अन्सारीले पनि यो फोटो दुई वर्ष पुरानो भएको बताए । “१०० पर्सेन्ट मेरो मोबाइलबाट खिचेको फोटो हो, यो । मैले अपलोड गरेको थिएँ,” हुसेनले भने । 

दाबी 

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न नेताहरूसँग मिले । 

दाबीकर्ता

एसएसीसी जेड, विकास महर्जन, राजेश तामाङ, रुटिन अफ एक्स लभर्स लगायतका फेसबुक पेज तथा अकाउन्ट ।

तथ्य

काठमाडौँ महानगर प्रमुख बालेन विभिन्न नेतासँग देखिएको फोटो दुई वर्ष पुरानो हो । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलको बिहेको पार्टीका क्रममा खिचिएको फोटोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले फरक सन्दर्भ राखेर अहिले भ्रम फैलाइरहेका छन् । 

निष्कर्ष

सामाजिक सञ्जाल प्रयोगकर्ताले दाबी गरेको जस्तो मेयर बालेन विभिन्न नेता तथा हास्यकलाकारसँग देखिएको फोटो अहिलेको नभई दुई वर्ष पुरानो हो । जुन रुटिन अफ नेपाल बन्द पेजका सञ्चालक भिक्टर पौडेलको बिहेको पार्टीका क्रममा खिचेको फोटो हो । फरक सन्दर्भमा उक्त फोटोलाई प्रयोग गरी भ्रम फैलाउन खोजेको निष्कर्ष टेकपाना फ्याक्ट चेकले निकालेको छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा info@techpana .com मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८१ ०:४६