काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ह्याशट्याग जस्टिस फर सविन (#JusticeForSabin) ट्रेन्डिङमा परेको छ । शुक्रबार राजावादी समर्थकले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका कीर्तिपुर नगरपालिका-४, गाम्चाका सविन महर्जनको न्यायको माग गर्दै पोस्ट गरिएको ह्याशट्याग ट्रेन्डिङमा परेको हो ।
आइतबार न्युज २४ नेपाल टेलिभिजनले सार्वजनिक गरेको भिडिओमा मृतक सविन महर्जनलाई प्रहरीले गोली हानेको दाबी गरिएको छ । प्रदर्शनको माहोल सामान्य नै रहेको अवस्थामा प्रहरीले सर्वसाधारणमाथि गोली चलाउँदा सविनलाई लागेको र उनी ढलेको दाबी गरिएको छ । अहिले चौतर्फी रूपमा त्यही दाबी भाइरल भइरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले #JusticeForSabin राख्दै प्रहरी प्रशासनसँग कडा प्रश्न गरिरहेका छन्– स्थिति सामान्य हुँदा गोली चलाउने आदेश कसले दियो ? कतिपयले सविनलाई निशाना बनाएर गोली हानिएको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गरिरहेका छन् ।
केही फेसबुक पेज र एक्स ह्यान्डलहरूले भने यो घटनामा मुख्यधारका मिडियाहरू मौन रहेको आरोप लगाएका छन् । उनीहरूले सविनको अन्यायपूर्ण मृत्यु किन चर्चामा आएन भन्ने प्रश्न उठाउँदै घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।