काठमाडौं । सूचना प्रविधि क्षेत्रमा कार्यरत कर्मचारीहरूको कार्यसुविधा र सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा सार्वजनिक यातायातको व्यवस्था गर्न सुझाव दिइएको छ ।
रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले हालै सरकारलाई बुझाएको प्रतिवेदनमा स्थानीय तहमार्फत् रातको समयमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
आईटी कम्पनीहरूमा सञ्चालन हुने शिफ्ट प्रणालीका कारण राति काम सकिने कर्मचारीहरूलाई सुरक्षित रूपमा घर फर्कन सहज होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न आयोगले सुझाव दिइको हो ।
आयोगले महिलाहरूलाई लक्षित गर्दै ‘गर्ल्स होस्टल’ वा ‘हाउजिङ’ विकास गर्नुपर्ने पनि उल्लेख गरेको छ । यसबाट कामकाजी महिलाहरूलाई सुरक्षित र सुविधासम्पन्न बसोबास मिल्ने विश्वास आयोगले लिएको छ ।
त्यस्तै, आईटी कम्पनीहरूको वृद्धि तथा विस्तारलाई मध्यनजर गर्दै प्रमुख सहरहरूमा सरकारी लगानीमा ‘वर्किङ सेन्टर’ स्थापना गर्नुपर्ने सुझावसमेत दिइएको छ ।
सूचना प्रविधि क्षेत्रको नियमन र सहजीकरणमा राज्यको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले सूचना प्रविधि विभागको प्राविधिक तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतासमेत आयोगले औँल्याएको छ ।