close

सैलुनलाई एसी-इन्भर्टर दिने हेटौंडा उपमहानगरको तोकादेश पत्र भाइरल, के हो वास्तविकता ?

टेकपाना टेकपाना

बैशाख ४, २०८२ १६:४४

सैलुनलाई एसी-इन्भर्टर दिने हेटौंडा उपमहानगरको तोकादेश पत्र भाइरल, के हो वास्तविकता ?

काठमाडौँ । बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा एक पत्र भाइरल बनेको छ । जसमा सैलुनका लागि एसी र इन्भर्टर खरिद गर्न हेटौँडा उपमहानगरपालिकाको तोक आदेश लगाइएको भनिएको छ । उपमहानगरले सो पत्रमा प्रक्रिया अघि बढाएको देखिएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो ।

भाइरल पत्रमा द नाइन्टिन सैलुनले लेखेको छ- “उद्घाटन कार्यक्रममा तपाईँले भन्नुभएको 'सैलुनमा गर्मी धेरै छ, मएसी जडानको लागि सहयोग गर्छु' कुरा सम्झेर, 'यो औपचारिक निवेदन लिएर उपस्थित भएका छु," पत्रमा द नाइन्टिन सैलुनले लेखेको छ । उक्त पत्रमा विद्युत आपूर्तिले समस्या पार्ने भएकाले सैलुनको लागि इन्भर्टरका लागि पनि सहयोग माग गरिएको छ ।

पत्रमा मेयर मिनाकुमारी लामाले सैलुनलाई सहयोगका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिँदै आर्थिक प्रशासन शाखालाई निवेदन हेर्न सिफारिस गरिएको देखिन्छ । सोपछि शाखाबाट पुरुषोत्तम नाम गरेका कर्मचारीलाई सैलुनको माग अनुसारको लागत अनुमान गर्न निर्देशन दिइएको छ ।

वास्तवमा के भएको थियो ?

स्नातक तहमा अध्ययनरत नौ जना विद्यार्थीहरू मिलेर द नाइन्टिन सैलुन खोलेको मेयर लामाले जानकारी दिइन् । “१९/२० वर्षका भाइबहिनी मिलेर महिला, पुरुषको कपाल काट्ने सैलुन खोल्नुभएको रहेछ । मलाई उद्घाटनका लागि बोलाउनुभएको थियो,” उनले भनिन् । उद्घाटन समारोहमा सैलुनको सेवा लिन अनुरोध गरेपछि आफूले पनि सेवा लिएर भुक्तानी गरेको उनले सुनाइन् । 

उनले भनिन्, “ फ्यान चलाएर कपाल काट्दा उड्दो रहेछ । हामीसँग पैसा भएन नगरपालिकाबाट मिल्छ भने एउटा एसी राखिदिनु पर्‍यो भन्नुभयो ।” त्यसपछि आफूले लिखित निवेदन सहित माग गर्न सल्लाह दिएको उनले सुनाइन् ।

“निवेदन लेखेर ल्याऊ, उपमहानगरको युवा लक्षित कार्यक्रममा बजेट छ कि छैन, कानुनी रूपमा दिन मिल्छ कि मिल्दैन हेरेर प्रक्रिया अघि बढाउँला” भनेर आफुले त्यसबेला भनेको उनले सुनाइन् ।

उद्घाटन समारोहपछि सैलुनको तर्फबाट बुधबार निवेदन ल्याएको र सहयोग दिन मिल्छ कि मिल्दैन भनेर हेर्न प्रक्रिया अघि बढाइएको उनले बताइन् । ​“कानुनसम्मत मिल्छ कि मिल्दैन भन्ने राय आउन बाँकी छ,” उनले भनिन्,  लेखा शाखामा जानु छ । कसैले सहयोग माग्न आए भने सिधै तँलाई दिन्न भन्न मिल्दैन ।”

साथै, उपमहानगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका वा यहीँ व्यवसाय गर्न चाहने युवालाई प्रोत्साहनस्वरूप कृषि, पशुपालन, सिँचाइलगायत क्षेत्रमा सहयोग गर्दै आएको जानकारी उनले दिइन् ।

उपमहानगरपालिकाबाट लागत अनुमान गर्न निर्देशन दिएपछि द नाइन्टिन सैलुनको टिकटक अकाउन्टबाट बुधबार नै मेयर लामासँग भेटघाट गरिएका फोटोहरू सार्वजनिक भएका थिए ।   तिनै फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यस विषयमा बुझ्न द नाइन्टिन सैलुनका सञ्चालक सुसन घलानलाई सम्पर्क गर्दा उनले सामाजिक सञ्जालमा भइरहेको आलोचनाका कारण मानसिक दबाबमा रहेको बताए । उनले “अहिले बोल्न सक्ने अवस्थामा छैन” भन्दै फोन राखे ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १७:८