close

एलन मस्कको ‘एक्स’ लाई टक्कर दिन आफ्नै सामाजिक सञ्जाल ल्याउँदै ओपनएआई

टेकपाना टेकपाना

बैशाख ४, २०८२ १७:३०

एलन मस्कको ‘एक्स’ लाई टक्कर दिन आफ्नै सामाजिक सञ्जाल ल्याउँदै ओपनएआई

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा काम गरिरहेको कम्पनी ओपनएआईले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ल्याउने तयारी गरेको जानकारी बाहिरिएको छ । द भर्जमा प्रकाशित एक समाचारअनुसार कम्पनीले च्याटजीपीटीको इमेज जेनेरेसन सुविधामा सोसल फिड एड गर्न थालेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले व्यक्तिगत रूपमा प्रयोगकर्ताबाट प्रतिक्रियासमेत लिइरहेको समाचारमा उल्लेख छ ।

तर यो प्लेटफर्मलाई छुट्टै एपको रूपमा सार्वजनिक गर्ने वा च्याटजीपीटीमै एकीकृत गर्ने भन्ने विषयमा भने कुनै आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन । ओपनएआईको तर्फबाट समेत यसबारे औपचारिक धारणा आएको छैन ।

ओपनएआईले एक्स (पहिलेको ट्वीटर) जस्तै सामाजिक सञ्जाल ल्याउने चर्चा हुनु भनेको एलन मस्क र साम अल्टम्यानबिचको प्रतिस्पर्धालाई थप चर्काउने संकेतको रूपमा हेरिएको छ । यी दुईबिच पछिल्ला केही वर्षदेखि मतभेद र प्रतिस्पर्धा चल्दै आएको छ ।

यही फेब्रुअरीमा एलन मस्कले ओपनएआईलाई करिब ९७ अर्ब अमेरिकी डलरमा किन्न प्रस्ताव गरेका थिए । जवाफमा अल्टम्यानले मस्कले चाहने हो भने त्यही मूल्यमा आफूले नै एक्स खरिद गर्ने बताएका थिए ।

यो टकरावकै बिच ओपनएआईले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्मको तयारी गरिरहेको खबरले अन्तर्राष्ट्रिय बजारमा थप चर्चा उत्पन्न गराएको छ ।

द भर्जका अनुसार ओपनएआईको नयाँ सोसल प्लेटफर्मले आफ्ना एआई च्याटबटहरूलाई थप राम्रोसँग तालिम दिनका लागि डेटा र प्रयोगकर्ता व्यवहार अध्ययन गर्न मद्दत गर्नेछ । साथै, एआईको सहायताले मानिसहरूले गुणस्तरीय सामग्री मात्र सामाजिक सञ्जालमा सेयर गरून् भन्ने उद्देश्य लिएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १८:४