काठमाडौँ । स्मार्टफोन निर्माता कम्पनी नथिङले आफ्नो नयाँ फ्ल्यागशिप फोन ‘नथिङ फोन थ्री’ को सार्वजनिक मिति घोषणा गरेको छ ।
कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्ल पेईले सामाजिक सञ्जाल एक्समा हालै भएको ‘आस्क मी एनिथिङ’ (AMA) सेसनमा २०२५ को तेस्रो त्रैमासमा यो फोन आउने जानकारी दिएका हुन् । यसको मतलब यो फोन जुलाईदेखि सेप्टेम्बरबिच कुनै पनि समयमा सार्वजनिक हुनेछ ।
नथिङले यसअघि ‘फोन १’ सन् २०२२ को जुलाईमा र ‘फोन २’ सन् २०२३ को जुलाई ११ मा सार्वजनिक गरेको थियो । त्यसैले यसपटक पनि नयाँ फोन यही सिजनमै आउने संकेत देखिएको छ ।
यस वर्ष कम्पनीले पहिले नै ‘फोन थ्री ए’ र ‘फोन थ्री ए’ प्रो सार्वजनिक गरिसकेको छ भने छिट्टै सीएमफ फोन टु प्रो ल्याउने तयारीमा छ । यी सबैपछि फोन थ्री कम्पनीको प्रिमियम मोडलको रूपमा आउनेछ ।
एएमए सेसनमा पेईले एउटा रोचक कुरा पनि सुनाएका छन् । जब उनलाई एक प्रयोगकर्ताले फोन बनाउने प्रक्रिया कति समय लाग्छ भनेर सोधे, उनले ९ देखि १८ महिना लाग्ने बताए । हाललाई फोन थ्रीमा कस्तो चिपसेट प्रयोग हुने र कति मूल्य पर्ने भन्ने खुलेको छैन । तर सार्वजनिक मिति तय भइसकेकाले अब चाँडै थप विवरण आउने अपेक्षा गर्न सकिन्छ ।