काठमाडौँ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको मोबाइल फोनका पार्टस् रहेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार झापाको भद्रपुर नगरपालिका वडा नं. ९ स्थित घोडामारा चोकबाट प्रहरीले बा १८ च ४६१६ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो ।
गाडीमा करिब २९ लाख ८७ हजार २०० रुपैयाँ बराबरको २० कार्टुन मोबाइल फोनका पार्टसहरू फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
उक्त गाडीका चालक झापा भद्रपुर नगरपालिका वडा नं. ५ निवासी २३ वर्षीय राहुल कामतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही दिन इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित छाताचोक नजिक प्लास्टिकको बोरामा पोका पारी राखिएको अन्दाजी १८ लाख १० हजार २५० रुपैयाँ बराबरको विभिन्न कम्पनीका मोबाइलमा प्रयोग हुने सामानहरू फेला पारी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाएको डीएसपी खड्काले जानकारी दिए ।